कर्णाली

कैलालीको सिमसार क्षेत्रका ताल सुके

Banner

कैलाली, असार ११-

कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये अधिकांश ताल सुकेका छन् । बाँकी रहेका तालमा समेत पानीको सतह घटेको छ । जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये टेडी र पर्सिनिया ताल पूर्णरुपमा सुकेका छन् । त्यस्तै अन्य ११ वटा तालमा पानीको सतह निकै कम छ भने बाँकी ताल आफ्नै आकारमा छन् ।

विभिन्न मानवीय गतिविधि प्राकृतिक ताल सुक्नुका कारण रहेको भएता पनि प्रमुख कारण भने चुरेमा रहेका पानीका मुहान सुक्नु नै भएको लामो समयदेखि संरक्षणका क्षेत्रमा काम गर्दै आएका हिरुलाल डङ्गौराले बताए । उनले भने, ‘स्थानीय तहले प्राकृतिक तालतलैयालाई समेत ठेक्कामा दिँदा अझै बढी समस्या देखिएको छ । जसले गर्दा जलीय जैविकता नष्ट हुने खतरा बढी हुन्छ, जलचर प्राणीको वासस्थानमा समस्या आउँछ, आहाराको अभाव हुनुका साथै बासस्थान परिवर्तन हुने खतरा बढी हुन्छ । यसले गर्दा सीमसार क्षेत्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ ।’

सिमसार क्षेत्रमा संरक्षित ताललाई ठेक्कामा लगाउन नपाइने भएता पनि सिमसार संरक्षित क्षेत्रको मर्म र अवधारणा विपरीत स्थानीय निकायले नै प्राकृतिक ताल माछापालनका लागि ठेक्कामा दिनु दुःखद् भएको संरक्षणकर्मी दीपेन्द्र शाही बताउँछन् । उनी भन्छन्, ‘यसले प्राकृतिक तालको दोहन भई सिमसार क्षेत्र नै समाप्त हुने खतरा बढेको छ ।’ ‘तालहरु नगरपालिकाले ठेक्कामा दिए पनि स्पष्ट मापदण्ड बनाएर दिनुपर्ने हो तर त्यसो भएको छैन’, शाहीले भने । केही पैसाको लोभले स्थानीय सरकारले सिमसार क्षेत्र नै सङ्कटमा पर्ने गरी ताल ठेक्कामा दिनु नै गलत भएको उनको भनाइ छ ।

पर्यटन व्यवसायी डवल शाहका अनुसार उचित मापदण्ड बनाउन सके सिमसार क्षेत्रका तालतलैयालाई ठेक्कामा दिँदा समस्या छैन । उनी भन्छन्, ‘सिमसार भन्ने बित्तिकै प्रयोग नै गर्न नमिल्ने हैन तर स्पष्ट नीति बनाउनु प¥यो ।’ मानिस माछा मार्दा पूर्णरुपमा पानी सुकाउन थाले त्यहाँ गएर समस्या भयो भन्छन् अर्का संरक्षणकर्मी विजयराज श्रेष्ठ । उनी भन्छन्, ‘अब प्राकृतिकरुपमा रहने धेरै कुरा सकिए । स्थानीय तहले तालतलैया ठेक्कामा दिएपछि ठेकेदारले जसरी पनि आफ्नो रकम अशुल गर्नलाई तालको जैविक विविधता ध्वस्त हुने गरी ताल पूर्णरुपमा सुकाउने क्रम बढेका कारण आज यो समस्या आएको छ ।’ उनका अनुसार चुरेको फेदीमा हुने अवैज्ञानिक ढुङ्गा गिट्टी निकासी तथा वन डढेलो र चुरेको पानीको मुहान सुक्नु पनि प्रमुख कारण हुन् ।

यता घोडाघोडी नगरपालिकाले गठन गरेको बृहत् घोडाघोडी पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले मापदण्ड नबनाई ताल ठेक्कामा दिँदा समस्या भएको र अब त्यो कुरालाई सच्याएर अघि बढ्ने बताए । नगरपालिकाले सिमसार क्षेत्रमा रहेका तालसहित अन्य ताल माछापालनका लागि ठेक्कामा दिँदै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>