चितवन विशेष

सौराहामा हात्तीलाई यातना दिएको विषयको लन्डनमा चर्चा

Banner

चितवन, असार ३-

चितवनको सौराहामा हरेक वर्ष गरिने हात्ती महोत्सवमा हात्तीलाई यातना दिइएको समाचार बीबीसीले प्रसारण गरेपछि यसले विश्वव्यापी चर्चा पाएको छ ।

पशु अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था पेटाले चितवनमा हात्ती महोत्सवको पछिल्लो संस्करणमा कतिपय हात्तीलाई ‘यातना’ दिइएको जनाएको छ । पेटाले बीबीसी नेपालीलाई उपलब्ध गराएको एउटा भिडिओ फुटेजमा माहुतेहरूले केही हात्तीलाई हिर्काएको र तीखो अस्त्रले रगत आउने गरी घोचेको तथ्यहरु सार्वजनिक भएका छन् । तर, महोत्सवका एक आयोजकले ‘ठूलो घटना नभएको’ र त्यसमा संलग्न माहुते तथा हात्तीका मालिकलाई आइन्दा त्यसो नगर्न भन्दै ‘सचेत गराइसकिएको’ प्रतिक्रिया दिएका छन् ।

घटनाबारे थाहा भएपछि महोत्सवका प्रमुख प्रायोजक गोर्खा ब्रुअरी र सहप्रायोजक जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आफूहरू सो महोत्सवबाट अलग भएको बताएका छन्। पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ हरेक वर्ष चितवनमा हात्ती महोत्सवको आयोजना गरिँदै आएको छ ।

हरेक वर्ष महोत्सवमा हात्तीहरूको वनभोज, फुटबल, पोलो, दौड र हात्ती सुन्दरी लगायतका कार्यक्रमको आयोजना गरिँदै आएको छ । हात्तीहरुको बीचमा हुने सौन्दर्य प्रतियोगिताका लागि हात्तीहरूलाई कपडा र विभिन्न रंगले सिँगार्ने गरिएको छ । सन् २०१८ को डिसेम्बरको अन्तिम हप्तामा चितवनको सौराहामा १५ औँ हात्ती महोत्सवको आयोजना गरिएको थियो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सन् २००५ मा पहिलो पटक अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताको रूपमा आरम्भ गरिएको थियो । त्यसपछि क्रमशः सन् २०१० देखि त्यसले महोत्सवको रूप लिँदै गयो र विभिन्न विधा थपिँदै गयो ।

क्षेत्रीय होटल संघ सौराहाको नेतृत्वमा हात्ती महोत्सवको आयोजना हुँदै आएको छ । हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड मार्फत् निजी हात्तीलाई महोत्सवमा सहभागी गराइँदै आएको छ । पेटाले बीबीसी नेपाली सेवालाई झन्डै छ मिनेट लामो भिडिओ उपलब्ध गराएको छ । पेटाकी लन्डनस्थित विशेष आयोजना संयोजक निराली शाहले भिडिओ फुटेज हात्ती महोत्सवको तयारी र महोत्सवका क्रममा खिचिएको बीबीसीलाई बताइन् ।

(बीबीसी नेपाली सेवाले तयार गरेको रिपोर्ट)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>