चितवन विशेष

चितवन बन्यो दूधमा आत्मनिर्भर जिल्ला, मन्त्री लामाले गरे औपचारिक घोषणा

Banner

चितवन, जेठ २९–

चितवन जिल्ला आज (बुधबार)देखी औपचारिक रुपमा दूधमा आत्मनिर्भर बनेको छ ।

पूर्वीचितवनको रत्ननगरमा आयोजित एक विशेष समारोहमा ३ नम्बर प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरे । उनले भने–‘चितवन जिल्लामा वार्षिक दूध उत्पादन एक लाख पाँच हजार छ सय नौ मेट्रिक टन परिणामलाई आधार मान्दा वार्षिक प्रति व्यक्ति दूधको आवश्यकता भन्दा ७८ लिटर बढी हुन आएकोले चितवन जिल्लालाई विधिवत रुपमा दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्दछु ।’

मन्त्री लामाले दूधमा आत्मनिर्भर घोषणा गरिएको प्रमाण पत्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका वरिष्ठ पशु चिकित्सक डा.विजय कुमार श्रेष्ठलाई प्रदान गरे ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महिना लगाएर गरेको अध्ययनले चितवनलाई पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । दूधमा आत्मनिर्भर घोषणा भएसंगै चितवन देशकै दोस्रो जिल्ला बनेको छ । यसअघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रूपमा घोषित भएको थियो ।
केन्द्रका प्रमुख डा.विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ । श्रेष्ठले भने–, ‘जिल्लामा छ लाख २५ हजार जनसङ्ख्या छन्, जसलाई दैनिक एक लाख ५६ हजार लिटर दूध आवश्यक पर्दछ ।’ उनले जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको जानकारी दिए ।

जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जाने गरेको छ । चितवनको दूध काठमाडौँ, कास्की जिल्लासंगै छिमेकी जिल्लामा जाने गरेको छ । केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन् ।

चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशील छन् । उनले सरकारले सहयोग गरेमा पाँच वर्षभित्रमा हालको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने बताए ।

घोषणा समारोहमा प्रदेश ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति सांसद घनश्याम दाहाल, प्रदेश सांसद कृष्ण भुर्तेल, कञ्चन खनाल, रामलाल महतो, प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका वरिष्ठ पशु चिकित्सक डा.विजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>