चितवन विशेष
पुष्पाञ्जली हस्पिटलले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने

चितवन, जेठ २८–
श्री पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएको छ ।
सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेकोमा पुष्पाञ्जली हस्पिटल पनि सूचीकृत भएको हो । चितवनमा पुष्पाञ्जली हस्पिटलसंगै चितवन मेडिकल कलेजले पनि स्वास्थ्य परीक्षण गर्न पाउने छ । यसले गर्दा मेडिकल सिटीको रुपमा परिचित चितवनमा वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुलाई स्वास्थ्य परीक्षणका लागि सहज हुनेछ ।
सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो ।
मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ । सूचीकृत संस्थाले धरौटीवापत रु तीन लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार बुझाउनुपर्ने छ ।