चितवन विशेष

रत्ननगरमा खरको छानो विस्थापन अभियान: २७५ घरधुरीलाई जस्तापाता बाँडिदै

Banner

चितवन, जेठ २८–

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आज (मंगलबार)देखि औपचारिक रुपमा खरको छानो भएका विपन्न घरधुरीलाई जस्तापाता वितरण गर्न सुरु गरेको छ ।

नगरलाई खरमुक्त छानो बनाउने अभियानस्वरुप नगरपालिकाले जस्तापाता वितरण गर्न सुरु गरेको हो । मंगलबार वडा नं.१४ का सरिता कुमाल र वडा नं.१६ खैरेटीका बुद्धिबहादुर कुमाललाई जस्तापाता वितरण गर्दै यो अभियानको सुरुवात गरिएको हो । उनीहरुलाई नगरपालिकाका प्रमुख नारायण वनले जस्तापाता हस्तान्तरण गरेका हुन् । यही अभियानअन्तर्गत यसअघि अनौपचारिक रुपमा वडा नं.१५ का सात घरधुरी, वडा नं.१४ को तीन घरधुरी र वडा नं.१ को दुई घरधुरीलाई जस्तापाता वितरण गरिएको थियो । यसअभियान अन्तरगत चालु आर्थिक वर्ष भित्र १४७ घरधुरीलाई जस्तापाता वितरण गरिने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए । बाँकी घरधुरीलाई अर्को आर्थिक वर्ष भित्र जस्तापाता वितरण गरिने हमालले बताए ।

यस नगरपालिका भित्र २७५ घरधुरीमा खरको छानो रहेको छ । यी सबै छानो विस्थापित गरिने नगरपालिकाले जनाएको छ । प्रत्येक घरधुरीलाई १६ हजार चार सय रुपैयाँ मूल्य बराबरको दुई बण्डल जस्तापाता वितरण गरिएको छ । यो अभियानका लागि कुल २४ लाख रुपैयाँ खर्च लाग्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख नारायण वनले विपन्न परिवारको अनुहारमा खुसी ल्याउन खरमुक्त छानो अभियान थालिएको बताए । उनले भने–‘अहिले खर पाउन पनि कठिन छ, वर्षाको समयमा निकै कठिन तरिकारले बस्नु परेको देखेरै यो अभियान चलाएको हुँ ।’ प्रमुख वनले जनताको समस्या समाधानका लागि नगरपालिकाले हरदम प्रयास गरिरहेको भन्दै जनतालाई सरकारको आभास दिलाउन आफू कटिबद्ध रहेको छ । ‘बाटो घाटो पूर्वाधार निर्माण भइरहेका छन् तर जनता घरमा खुसीको साथ सुत्न सक्ने अवस्था छैन’ मेयर वनले भने ‘यही देखेरै अभियानको थालनी भएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>