चितवन विशेष

अण्डा उत्पादक संघको विवाद उत्कर्षमा,आरोप प्रत्यारोपमा उत्रिए व्यवसायी

Banner

चितवन,जेठ २६-

नेपाल अण्डा उत्पादक संघको विवाद उत्कर्षमा पुगेको छ । सौराहामा आयोजित १५ औँ वार्षिक साधारणसभामा बहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि कँडेलले आफ्नो कार्यसमिति नरहेको घोषणा गरेका थिए ।

यद्यपि आइतबार कँडेलले भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत आफूले राजीनामा नदिएको र कार्यसमिति भङ्ग नगरेको जिकिर गरेका छन् । साधारणसभाका क्रममा त्यहाँ भेला भएका व्यवसायीहरुले चौतर्फी घेराबन्दी गरेका कारण ज्यान जोगाउन साधारण सभामा बाध्यताले राजिनामा घोषणा गरेको कँडेलले बताए ।

पत्रकार सम्मेलन मार्फत पोल्ट्रीसँग आवद्ध १० विभिन्न संघसंस्थाले कँडेलको अध्यक्षतामा रहेको कार्यसमिति नै बैधानिक भएको दाबी गरेका छन् । नेपाल कुुुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, नेपाल कुुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरि लोहनी, नेपाल ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुराल, नेपाल दाना उद्योग संघ चितवनका सचिव सोमनाथ तिम्सेना, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्याल, नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट र स्वयम् नेपाल अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेलद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत सधारणसभामा भएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

उनीहरुले विभिन्न सञ्चार माध्याममा शिवराम केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको भन्ने समाचार आएकोमा खण्डन गर्दै कार्यालय र व्यक्तिको सुरक्षाको समेत माग गरेका छन् । कँडेलनै संघको आधिकारी अध्यक्ष भएको उनीहरुको दावी छ । विज्ञप्तीमा साधारणसभामा संघमा सदस्य नभएका व्यक्तिहरु सहितको हुलहुज्जत प्रवेश गरी साधारणसभा बिथोलेको र संस्थाको नीति नियम र विद्यान विपरित साधारणसभा बिथोलेको जनाइएको छ । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले साधारणसभामा अराजकरुपमा गैरसदस्यहरु प्रवेश गराएर विधि विपरित काम भएको आरोप लगाए ।

उनले अराजक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधि विरुद्ध सम्पूर्ण पोल्ट्री व्यवसायी एकजुट भएको बताए । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष ऋषिराम पौडेल, पोल्ट्री व्यवसायी डा. तीलचन्द्र भट्टराईलगायतले अण्डा उत्पादक संघमा देखिएको विवाद दुखद रहेको बताएका छन् । यसअघि अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघमा आवद्ध सदस्यहरुले हस्ताक्षर समेत संकलन गरेका थिए ।

साधारणसभा सुरु भए लगत्तै गोविन्द शर्माले अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । लगत्तै संघका अध्यक्ष कँडेलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका थिए । कँडेलले सप्लार्यससँग कमिसन खाएर किसानहरुको हकहितविरुद्ध काम गरेको आरोप किसानहरुको छ ।

अण्डाको मूल्य भारी गिरावट आउँदा समायोजनका लागि अध्यक्षले पहल नगरेको, संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न नसकेको, राज्यसँग आवश्यक लबिङ गर्न नसकेको आरोप उनीहरुको छ । किसानहरुले भने निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष बनाउने घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>