अन्तर्राष्ट्रिय

आँधीबाट भारतको उत्तर प्रदेशमा मर्नेको संख्या २६ पुग्यो

Banner

नयाँ दिल्ली, जेठ २५-

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन् ।

उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण २६ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए । यस आँधीको कारण १६ ओटा घर नराम्ररी क्षतिग्रस्त भएको बताइएको छ । उनले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए ।

आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ । स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लाख दिने घोषणा गरेको छ । आँधीबाट ठूलो सङ्ख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । (रासस\सिन्ह्वा)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>