राजनीति
पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, असोज ७-
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको शाख, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो ।
“पत्रकारिता भनेको आफैँमा एउटा संस्था हो । यो संस्थाको गरिमा हामी सबैले सामूहिकरूपमा जोगाउने र यसको स्तर उन्नति गर्ने हो । हाम्रो पत्रकारिताको शाख के कुराले कमजोर बनाइरहेको छ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो”, उहाँले भन्नुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताउनुभयो ।
“हामीले कस्तो पत्रकारिता बनाउन खोजेका हौँ, कस्ता संस्था निर्माण गर्न खोजेका हौँ र कस्तो पत्रकारिता क्षेत्र निर्माण गर्न चाहन्छौँ भन्ने मूल प्रश्नको जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेको उल्लेख गर्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता यी विषयको समाधानका लागि आवश्यक काम अघि बढाइरहेको बताउनुभयो । उहाँले स–साना समस्यालाई लिएर एकअर्कामाथि आरोप लगाउँदै सडकमा जाने प्रवृत्तिले संस्थागत समस्या समाधान नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले विधि, विधान र संस्थागत प्रणालीलाई बलियो बनाएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक सेवा प्रसारण संस्थालगायत सार्वजनिक सञ्चार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । उहाँले ती संस्थाको लामो इतिहास र नेपाली संगीत, सञ्चार तथा पत्रकारिताको विकासमा रहेको योगदानको स्मरण गर्नुहुँदै पछिल्लो समय ती संस्थाहरू कमजोर अवस्थामा पुग्नुको कारण खोजिनुपर्ने बताउनुभयो ।
“अर्बौंको सम्पत्ति भएको एउटा सञ्चार संस्थाले आफ्ना कर्मचारीको पेन्सन र सुविधाका लागि सरकारको अनुहारमा टुलुटुलु हेर्नुपर्ने अवस्था किन आयो रु वर्षौंदेखि लेखापरीक्षण हुन नसक्नुको कारण के हो रु यी प्रश्नको जवाफ खोज्नुपर्छ”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजनका भौतिक पूर्वाधार निजी संस्थाभन्दा कमजोर नरहेको उल्लेख गर्दै उहाँले उपलब्ध पूर्वाधार र स्रोत हुँदाहुँदै पनि संस्था बलियो हुन नसक्नुका कारण संस्थाभित्रै खोजिनुपर्ने बताउनुभयो ।
“यी संस्थालाई बलियो हुनबाट रोक्ने के शक्ति थियो रु त्यो प्रश्नको जवाफ हामीले भित्रैदेखि खोजेनौँ भने कुनै पनि समस्याको समाधान हुँदैन”, उहाँले भन्नुभयो ।
संस्थागत सुधारबिना सार्वजनिक सञ्चार संस्था र समग्र पत्रकारिता क्षेत्रलाई बलियो बनाउन नसकिने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । उहाँले विगतमा भएका गलत अभ्यास सच्याउन सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो । “हामीले हिजो गरेका गलत कुरालाई सुधार गर्न निर्मम भएर तयार हुनुपर्छ । सबै पक्ष एकै ठाउँमा आएर संस्थालाई बलियो बनाउने सङ्कल्प गर्ने हो भने सुधार गर्न सकिन्छ । सुधार गर्नैपर्छ”, उहाँले भन्नुभयो ।


























