Breaking News

‘गणतन्त्रको यात्रा’ विमोचन गर्दै नागरिक अगुवाले भने- गणतन्त्र जान सक्छ

Banner

१८ बैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरूले नेतृत्व नसच्चिए जनताले रगत बगाएर ल्याएको गणतन्त्र समाप्त हुन सक्ने आशंका व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको पुस्तक ‘गणतन्त्र यात्राः बन्दी वृतान्त’ को बुधबार राजधानीमा विमोचन गर्दै उनीहरूले नेताहरूकै कारण गणतन्त्र संकटमा परेको बताएका हुन् ।

०६२/०६३ को जनआन्दोलनमा अग्रपंक्ति रहेर जनआन्दोलनमा होमिएका कृष्ण पहाडीले गणतन्त्रको सर्वोच्च पदमा बस्नेहरूले नै नागरिकलाई कष्ट दिने काम गरिरहेको बताए । गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको उनको भनाइ छ । अहिलेकै अवस्था रहे गणतन्त्र जानसक्ने पहाडीको आशंका छ ।

कार्यक्रममा उनले भनेः

कांग्रेसमा गणतन्त्रको बीउ नरहरी आचार्य, गगन थापाहरूले छरे । पछि अन्य साथीहरू पनि सहमत हुँदै जानु भयो । गणतन्त्र आईसकेपछि सर्वोच्च पदमा बसेका व्यक्तिहरू नै गणतन्त्रलाई गाली गरेर पुस्तकसम्म निकाल्न भ्याए ।

गणतन्त्रमा पीडितहरूको मर्म बुझ्ने मान्छेहरू हुन्छन् । यो व्यवस्थामा पीडक र पीडित भन्ने हुँदैन । कानून भन्दा माथि कोही पनि हुँदैन । गणतन्त्रको सर्वोच्च पदमा बस्नेहरूले जल थल र आकाशमा नागरिकलाई दुःख दिने काम गर्नु भएको छ । हुलाक बदलियो, हुलाकी बदलिएन । यसले व्यवस्थालाई खान्छ । कहिलेसम्म चल्छ ?

सम्मानीय प्रधानमन्त्री परिवर्तनको विरोधी हुनुहुन्थ्यो । उहाँमा पदमा हुनुहुन्छ र गणतन्त्र छ । उहाँले पद ओगट्नुभएको छ र गणतन्त्र सुरक्षित छ । होइन भने गणतन्त्र के भइसक्थ्यो ।

गणतन्त्रको विकल्प राजतन्त्र होइन । एउटा अण्डा खान लाग्दा कुहिएको भेटियो भने फालिन्छ । दोस्रो खान लाग्दा पनि फेरि कुहिएको भेटियो भनेर फेरि फालिसकेको अण्डा टिपेर खाइँदैन ।

गणतन्त्र संस्थागत हुन सकेको छैन । तर, हिजो गणतन्त्रका लागि लडेका साथीहरूले मनमा ग्लानी राख्ने कुरा होइन । गणतन्त्र ल्याउनमा तपाइहरूको पसिना बगेको छ । कुण्ठा राख्न जरुरी छैन ।

पुस्तक विमोचन गर्दै प्राध्यापक कृष्ण खनालले युद्धरत नेकपा माओवादी संसदमा प्रवेश गर्ने भयले ०५९ सालमा दरबारले संसद हतार हतार संसद विघटन गरेको बताए ।

संसद विघटनबारे खनालले एउटा घटना यसरी स्मरण गरे-

प्रतिनिधिसभा विघटन हुनु भन्दा अगाडिको कुरा हो । खुल्लामञ्चमा आन्दोलनरत दलहरूको आमसभा थियो । त्यसमा गिरिजाप्रसाद कोइरालाले माओवादीलाई २०४६ सालको उपलब्धीलाई सुरक्षित गरेर वार्ता गर्न चाहन्छौं भने दलहरूलाई पत्र लेख भन्नुभयो । नभन्दै केही दिन भित्रमै माओवादीले सबै दललाई चिठी लेख्यो । तर, त्यसको एक हप्ता नबित्दै संसद विघटन भयो ।

धेरै मान्छेलाई लाग्छ की संसद विघटन नेपाली काँग्रेस भित्रको द्वन्द्वको परिणाम हो । सतहमा पनि त्यही देखिन्छ । तर, यथार्थता त्यो होइन । माओवादी संसदमा प्रवेश गर्ने गरी वार्ता हुन लागेपछि दरबारलाई भय भयो । त्यसो हुन नदिन दरबारले संसद भंग गर्ने भूमिका खेल्यो । तत्कालिन प्रधानमन्त्रीलाई दरबारले प्रयोग गर्‍यो । जुन स्वाभाविक पनि थियो ।

अर्का नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले दुई/चार जना गुण्डालाई अघिपछि लगाएर हिँड्न सक्नु वा दलाल विचोलिया परिचालन गर्नुलाई नेताको क्षमताको रुपमा बुझ्न थालिनु गणतन्त्रको दुर्भाग्य भएको बताए ।

गणतन्त्र यात्रा समाप्त नभएको भन्दै उनले पनि गणतन्त्रसलाई असफल बनाउने प्रयास भईरहेको धारणा राखे । पाण्डेले भने, ‘गणतन्त्रको यात्रा जारी छ र यात्रामा लडाउने तत्वहरू सक्रिय छन् ।’

पुस्तकका लेखक नरहरि आचार्यले शुरुमा घर र पार्टी दुबै तिर गणतन्त्रको विषय प्रवेश गराउन कठिन भएको बताए । गणतन्त्रको लाइन लिनुपर्छ भन्दा पार्टीले पटक पटक स्पष्टीकरण लिएको स्मरण गरे ।

साहित्यकार एवं आचार्य पत्नी शारदा शर्माले पार्टीले आफूलाई समेत वाक्क दिक्क लाग्ने गरी स्पष्टीकरण लिएको धारणा राखिन् । शर्माले भनिन्, ‘प्रजातन्त्र नआउँदा पनि स्पष्टीकरण बोकेर आउनुहुन्थ्यो । आइसकेपछि पार्टीलाई स्पष्टीकरण दिइरहनुहुन्थ्यो । त्यस्तो बेलामा सोच्थें- ए बाबा कस्तो मान्छेसँग विवाह गरेंछु ?’

सामान्य दैनिकी फर्किए आचार्य

तीन वर्ष पहिले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिएर र्फकंदा पक्षघातले थलिएका आचार्य पढ्न लेख्न सक्ने भएका छन् । पुस्तक विमोचन कार्यक्रममा आफ्नै विषयमा आचार्यले यस्तो भनाइ राखे-

तीन वर्षदेखि एक हिसाबले अस्वस्थ रहें । कति दिनसम्म त म बोल्नै सकिनँ । कति दिनसम्म त हिँड्न पनि सकिनँ । अहिले विस्तारै विस्तारै बोल्न, हिँड्न सक्ने भएको छु । पहिलाको जस्तो धाराप्रवाह बोल्न सकेको छैन । अहिले पनि सुस्तरी बोलिरहेको छु । पढ्न सक्छु । लेख्न पनि थालेको छु । भर्खरै सिकेर देब्रे हातले कम्प्युटरमा लेख्न पनि थालेको छु । अल्मलिने कुरा प्राप्त गरेको छु ।

१९ माघको शाही घोषणापछि दुई पटक पक्राउ परेका आचार्यको बन्दी हुँदाको दैनिक हो, ‘गणतन्त्रको यात्रा’ । २०६२/०६३ जनआन्दोलनताका उनी १५५ र २५५ दिन बन्दी बनेका थिए । पुस्तकमा उनले राजासँगको मात्रै होइन आफ्नै पार्टी नेतृत्वसँगको संघर्षबारे पनि चर्चा गरेका छन् । लोकतान्त्रिक भनिएको काँग्रेस पार्टीकै नेताको अलोकतान्त्रिक चरित्रलाई नामै तोकेर पुस्तकमा उल्लेख गरेका छन् ।

कांग्रेस नेता आचार्यले जेलमा बस्दा लेखेको डायरीको अंश
तस्वीरः शंकर गिरी/अनलाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>