Breaking News

फेसबुकका संस्थापक मार्क जुकरबर्ग : विश्वका युवाको उत्प्रेरक

Banner

अमेरिकाको फोर्ब्स नामक अखबारले सार्वजनिक गर्ने विश्वका धनाढ्यहरुको सूचीमा सुचिकृत सबैको नाम सबैले ख्याल नगरेका हुनसक्छन् । तर, फोब्सले सार्वजनिक गरेको सूचीको आठौं स्थानमा रहेका र विश्वका अधिकांश नागरिकले चिन्ने नाम बनाउनु चानचुने विषय भने होइन । फोब्सको अध्ययनबाट प्राप्त ६६ अर्ब अमेरिकी डलर बराबरको धन–सम्पत्तिका कारण नभई उनको आफ्नै कम्पनीका कारण उनी चर्चामा रहछ सफल व्यक्ति हुन मार्क जुकरबर्ग । सायद यो भन्नै पर्दैन कि मार्क जुकरबर्ग सामाजिक सञ्जाल फेसबुकका संस्थापक हुन् ।

उनी धनाढ्य त छन् नै उनी आफ्नो सामान्य र सरल जीवनशैलीका कारण पनि उत्तिकै चर्चित छन् । हाल ३४ वर्षका उनी छोटो समयमा नै सफल र यतिका चर्चित हुनुका कारण चाहीँ उनको दिमागी उपज वा ब्रेनचाइल्ड फेसबुक नै हो । उनले १९ वर्षको उमेरमा हाडवर्ड विश्वविद्यालयबाट सन् २००४ को शुरुतिर सुरुआत गरेको सामाजिक सञ्जाल फेसबुक हाल विश्वका २ अर्ब ३२ करोडभन्दा धैरै मानिसहरुले सक्रिय रुपमा प्रयोग गर्छन । सायद त्यसैले उनी धनाढ्य छन् र उत्तिकै चर्चित पनि ।

उनको सफलताको कथा पनि उत्तिकै रोचक छ । सन् १९८४ मा जन्मेका उनीमा सानै देखि कम्युटर प्रोग्रामिङ्गबारे लगाव थियो । १२ वर्षको उमेरमा नै उनले जुकनेट नामक कम्युटर प्रोग्राम बनाइसकेका थिए । त्यसबेला उनको त्यो प्रोग्राम उनका बुबाको दाँतसम्बन्धी अस्पतालका लागि बिरामीहरुको तथ्याङ्क राख्न प्रयोग गरिन्थ्यो । उनी सन् २००२ मा फिलिप्स एक्जिटर कलेजबाट पढाइ सकेर हाडवर्ड विश्वविद्यालयमा भर्ना भएका थिए ।

हाडवर्ड विश्वविद्यालयमै रहँदा उनले आफ्ना सहपाठीहरुलाई ‘हट अर नट’ गेमका लागि सन् २००३ मा एउटा कम्युटर प्रोग्राम बनाएका थिए । सहपाठीहरुले एक अर्काको अनुहार भएको तस्बीर हेरेर आकर्षक भए/नभएको सङ्केत दिने र रेटिङ्ग गर्ने शैलीमा हट अर नट गेम खेलिने भएकाले उनले त्यो प्रोग्रामलाई ‘फेसम्यास’ नाम दिएका थिए ।

पछि सन् २००४ को फेब्रुअरी महिनामा उनले हाडवर्ड विश्वविद्यालयमा आफ्ना सहपाठीहरुलाई आफ्नै प्रोफाइल बनाउन मिल्ने, अरु साथिहरुसँग कुराकानी गर्न सकिने तथा फोटोहरु अपलोड गरी अर्काले मन पराउने शैलीमा अर्को प्रोग्राम बनाएका थिए । उनले हाडवर्ड विश्वविद्यालयका केही साथीहरुका लागि भनेर बनाएको उक्त प्रोग्रामलाई उनले ‘द फेसबुक’ को नाम दिएका थिए ।

उनले हाडवर्ड विश्वविद्यालयमा आफ्ना केही साथीहरुका लागि बनाएको प्रोग्राम विश्वविद्यालयकै अन्य धेरै साथीहरु तथा विद्यार्थीमाझ लोकप्रिय बन्दै गयो । त्यसपछि उनले आफ्नो ब्रेनचाइल्डका लागि समय दिन हाडवर्ड विश्वविद्यालय नै त्याग्ने निर्णय गरे । यसअनुसार उनले फेसबुकको कार्यार्लय पालो आटो क्यालिफोर्नियामा स्थापना गरे । यससँगै उनले फेसबुकलाई आइभी लिगका अन्य विश्वविद्यालय तथा कलेजहरुमा पनि विस्तार गर्दै लगे । यसअनुसार फेसबुकको लोकप्रियता हाडवर्डमात्रै नभई अन्य विश्वविद्यालयमा पनि लोकप्रिय बन्दै गयो । सन् २००४ को अन्त्यसम्म फेसबुकका प्रयोगकर्ता १० लाख कटिसकेका थिए ।

यही समय उनले द फेसबुकका लागि अक्सल नामक लगानी कम्पनीबाट १ करोड २७ लाख अमेरिकी डलर लगानी थप्न पनि सफल भए । योबीचमा याहू र अन्य प्राविधिक कम्पनीहरुले फेसबुकलाई किन्नसमेत अफर गरेका थिए । त्यसबेला याहूले उनीसमक्ष द फेसबुकका लागि १ अर्ब अमेरिकी डलर बराबरको अफर गरेको बताइन्छ । तर, उनले द फेसबुक अन्य कम्पनीलाई बेच्ने भन्दा पनि द फेसबुकमा अरु फिचरहरु थप्ने र यसलाई अझ परिष्कृत तथा विस्तार गर्नमा आफ्नो ध्यान दिन थाले ।

सन् २००५ को अगष्ट महिनामा उनले फेसबुक डट कम नामक वेब एड्रेस २ लाख अमेरिकी डलरमा खरिद गर्न सफल भए । यससँगै फेसबुक अमेरिकाबाहिरका मुलुकमा रहेका शैक्षिक केन्द्रहरुमा पनि चर्चित बन्न पुगिसकेको थियो । यसक्रममा सन् २००५ को अन्त्य सम्म फेसबुकका प्रयोगकर्ता ५५ लाख पुगेका थिए ।

यसअघि विद्यार्थीले मात्र फेसबुकमा आफ्नो प्रोफाइल बनाएपनि सन् २००६ को सेप्टेम्बर महिनाबाट इमेल भएका जो कोहीले पनि फेसबुकमा प्रोफाइल बनाउन सक्ने भए । सित्तैमा प्रोफाइल बनाएर मानिसहरुसँग अन्तरक्रिया गर्न सकिने भएपछि फेसबुकको लोकप्रियता इन्टरनेट पुगेको विश्वको हरेक कुनामा बढ्दै जान थालेको थियो ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । उनको सफलताकै गोरेटोमा उनी फोर्ब्स पत्रिकाको धनाढ्यहरुको सूचीमा सन् २००८ मा केबल २३ वर्षको उमेरमै विश्वको सबैभन्दा कान्छो अर्बपतिको रुपमा नामङ्कित भइसकेका थिए ।

त्यसपछि एकपछि अर्को गरी सफलता उनको पछि लागेर आउन थाले । सन् २०१० मा टाइम म्याग्जिनले उनलाई वर्ष व्यक्तिको घोषणा गरेको थियो ।
त्यसलगत्तै मोबाइल इन्टरनेटमा आएको प्राविधिक क्रान्तिपछि फेसबुकको लोकप्रियता संसारभर बढ्दै गयो । यसैबीचमा फेसबुकले सञ्जालमा फिचरहरु थप्ने र त्यसलाई अझ समय सापेक्ष तथा परिष्कृत गर्दै लग्यो ।

सन् २०१२ मा फेसबुकले सार्वजनिक रुपमा शेयर विक्री शुरु गर्यो । हाल जुकरबर्गसँग फेसबुकको १५ प्रतिशत मात्र शेयर छ । यद्यपि प्रमुख कार्यकारीका रुपमा उनले फेसबुकलाई अगाडि बढाइरहेका छन् ।

हाल ह्वाट्सएप, इन्स्टाग्राम, आक्युलस, भिआरजस्ता सामाजिक सञ्जाल र इन्टरनेटका सेवाहरु फेसबुकको मातहतमा छन् । अर्बपति जुकरबर्ग दान र परोपकारमा पनि उत्तिकै सक्रिय छन् । उनले हालसम्म दशौं करोड अमेरिकी डलर बराबरको सम्पत्ति दान र परोपकारमा खर्चेका छन् । उनले अफ्रिका, ल्याटिन अमेरिका र एशियाका गरिब मुलुकमा विभिन्न परियोजनामा पनि उत्तिकै मात्रामा आफ्नो सम्पत्ति खर्चिरहेका छन् ।

उनी एक उत्प्रेरक पनि हुन् । उनी संसारका विभिन्न स्थानमा पुगेर युवाहरुलाई उत्प्रेरणा दिइरहेका हुन्छन् । उनी सरल छन्, अर्बपति भएपनि उनी हेर्दा अर्बपति जस्ता देखिँदैनन् । सायद यसैकारणले उनी विश्वमा खासगरी युवाहरुमाझ लोकप्रिय छन् ।

सानो उमेरदेखि नै लगाव भएको क्षेत्रतर्फ नै आफ्नो ध्यान केन्द्रित गर्न पाउनु उनका लागि महत्वपूर्ण पाटो थियो । कलिलो उमेरमा नै प्रोग्राम बनाएर छोटो समयमा नै त्यसलाई आफ्नो विश्वविद्यालय त्यसपछि विश्वभर लोकप्रिय बनाउने उनको क्षमता आफैमा उदाहरणीय छ । त्यस्तै, हाडवर्डजस्तो प्रतिष्ठित विश्वविद्यालय बीचैमा छाडेर कलिलो उमेरमा नै भर्खर शुरु गरिएको सामाजिक सञ्जाल फेसबुकतर्फ आफ्नो ध्यान केन्द्रित गर्नु उनका लागि कम जोखिमपूर्ण थिएन । तैपनि उनको निर्णय सही साबित भएको छ । उनी विश्वमा परिचित नाम बनिसकेका छन् भने उनको सफलता पनि युवाहरुका लागि प्रेरणाको श्रोतका रुपमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>