राजनीति
गरिबी प्रत्येक वर्ष १ प्रतिशतले घट्छ : मन्त्री बाँस्कोटा
काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षीक एक प्रतिशतले गरीबी घटाइने बताए ।
आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गरे।
मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताए । ‘हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग गर्यौँ भने समृद्धि टाढाको विषय होइन’, उनले भने ।
उनले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने बताए । निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उनको दाबी थियो ।
























