राजनीति

काठमाडौंको दुर्दशाबाट पाठ सिक्न अन्य शहरलाई कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको आग्रह

०
Banner

काठमार्डाैं, मंसिर ७ –

कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले अनियन्त्रित शहरीकरण, नदी अतिक्रमण र प्राकृतिक जलाधारको विनाशले काठमाडौंले भोगिरहेको वातावरणीय संकटबाट पाठ सिक्न देशभरका स्थानीय तहसँग आग्रह गर्नुभएको छ ।

उहाँले समस्या विकराल भएपछि पछुताउनुभन्दा नदी, पोखरी, खुला क्षेत्र र पानीका मुहान जोगाउन अहिल्यै कदम चाल्नुपर्ने बताउनुभएको हो । सोमवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं क्लाइमेट एक्शन विक’लाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौंले भोगेका बाढी, डुबान, अत्यधिक गर्मी र पानीका स्रोत सुक्ने समस्यालाई अन्य तिब्र रूपमा विस्तार भइरहेका शहरले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो । श्रेष्ठले काठमाडौं महानगरपालिकाले पछिल्लो चार वर्षमा ऐतिहासिक ढुङ्गेधारा ९हिटी० पुनर्जीवनका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो । पुरिएका र अस्तित्व गुमाउने अवस्थामा पुगेका ढुङ्गेधारा तथा राजकुलोले वर्षाको पानी संकलन गरी भूमिगत जलस्रोत पुनर्भरण गर्ने र शहरको तापक्रम घटाउन सहयोग गर्ने उहाँको भनाइ छ । शहरी बाढी नियन्त्रण र पूर्वसूचना प्रणालीलाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्दै उहाँले जल तथा मौसम विज्ञान विभागमार्फत महानगरपालिका र अन्य सहरसँग वर्षा मापन, शहरी बाढीको मोडलिङ तथा पूर्वसूचना प्रणाली विकासमा सहकार्य गरिने बताउनु भयो । यसका लागि महानगर र सम्बन्धित स्थानीय तहलाई आफ्नो ढल निकास तथा बाढी जोखिम क्षेत्रको तथ्यांक उपलब्ध गराएर संयुक्त अनुगमन प्रणाली बनाउन उहाँले आग्रह गर्नुभयो । नदी व्यवस्थापनमा कंक्रिटका संरचनालाई मात्र विकल्प मान्न नहुने बताउँदै श्रेष्ठले प्रकृतिमैत्री नदी व्यवस्थापनमा जोड दिनुभयो । नदीलाई प्राकृतिक रूपमा फैलिन र खुम्चिन दिनुपर्ने उल्लेख गर्दै उहाँले काठमाडौं उपत्यकाका नदी प्रणालीसँग जोडिएका १७ स्थानीय तह, काठमाडौं महानगरपालिका र सम्बन्धित संघीय निकायबीच समन्वय गरेर जोखिमयुक्त नदी क्षेत्रको प्राथमिकता निर्धारण गरिने बताउनु भयो । आगामी मनसुनअघि नै जोखिमयुक्त क्षेत्रमा हस्तक्षेपकारी काम शुरु गर्ने उहाँको प्रतिवद्धता छ ।

कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘बढ्दै गरेका सहर तथा नगरपालिकाहरूलाई म यही भन्न चाहन्छु, काठमाडौँले भोगेका समस्याहरूबाट पाठ सिक्नुहोस् । क्षति भइसकेपछि होइन, क्षति हुनुअघि नै सचेत हुनुहोस् । आफ्ना नदीहरू, पोखरीहरू र खुला जमिनहरूलाई जोगाउनुहोस्, जबसम्म ती हामीसँग सुरक्षित छन् । साथै, काठमाडौं महानगरपालिका, यहाँका मेयर तथा वडा अध्यक्षहरूले विगतमा र वर्तमानमा यी समस्याहरू समाधान गर्न अपनाउनुभएको सिर्जनशील उपायहरूबाट पनि सिक्नुहोस् । उहाँहरूका कार्यहरूले अहिले एउटा बस्नयोग्य र जीवन्त काठमाडौँको आशा जगाइरहेका छन् । विगत चार वर्षदेखि काठमाडौं महानगरपालिकाले हाम्रा परम्परागत हितिहरूको पुनर्जीवनका लागि गरेको प्रयासप्रति म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । धेरैजसो हिति लगभग मृत अवस्थामा पुगेका थिए, कतिपय त पुरिएका समेत थिए । हिटी र राजकुलोले वर्षाको पानी सङ्कलन गर्ने र भूमिगत जलभण्डार पुनर्भरण गर्ने काम गर्थे। आधुनिक शहरलाई शीतल राख्न र बाढीको जोखिम कम गर्न ठ्याक्कै यस्तै प्रणालीको आवश्यकता पर्दछ । यस्तो नेतृत्वले मलाई आशा र विश्वास दिलाएको छ । तर आशालाई कार्यमा परिणत गर्न आवश्यक छ ।’

उहाँले विष्णुद्वार, वागद्वार, नागार्जुन र गोदावरी क्षेत्रका जलाधार तथा पानीका मुहान संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताउनु भयो । शहरी तापक्रम घटाउन र भूमिगत पानीको सतह बढाउन घरमै वर्षाको पानी संकलन, पानी सोस्ने पदमार्ग, खुला क्षेत्र, स्थानीय प्रजातिका रूख र सडक किनारमा हरियाली विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि पहिलो परियोजना पहिचान गर्न महानगरपालिकालाई आग्रह गर्दै संघीय सरकारले प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । जलवायु परिवर्तनको असर र अन्तर्राष्ट्रिय जलवायु न्यायको विषय उठाउँदै श्रेष्ठले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्युन भएपनि हिमनदी पग्लिने र हिमाली समुदायले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था रहेको बताउनु भयो । नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा क्षति तथा नोक्शानी र जलवायु वित्तको विषय उठाउँदै आएको उल्लेख गर्दै उहाँले जलवायु न्यायको शुरुवात आफ्नै देशबाट हुनुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>