राजनीति

‘जनताको गुनासो सुन्न ह्वाट्सएपमै सीमित नहुनुस्’: सांसद केपी खनाललाई आशिका तामाङको आग्रह

०
Banner

काठमाडौं, मंसिर ७ –

सांसद आशिका तामाङले सांसद केपी खनाललाई सर्वसाधारण नागरिकका गुनासा र समस्या सुन्न फोन सम्पर्कलाई ह्वाट्सएपमा मात्र सीमित नगर्न आग्रह गरेकी छन्।

खनालसँग फोनमा कुराकानी भएपछि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले जनप्रतिनिधि जनताको सहज पहुँचमा हुनुपर्ने बताएकी छन्।

तामाङका अनुसार खनालले उनलाई फोन गरेर आफ्नो बदनाम गराउने नियत भए छुट्टै कुरा भएको भन्दै आफूहरूको मुख्य काम जनताको मुद्दा उठाउनु रहेको बताएका थिए। कुराकानीका क्रममा खनालले आफूलाई विभिन्न ठाउँबाट दबाब आइरहेको र तामाङलाई दिदी मानेको भन्दै गुनासोसमेत गरेको उनले उल्लेख गरेकी छन्।

जवाफमा तामाङले आफूले खनाललाई उमेरका हिसाबले भाइ मानेको बताउँदै जनताको समस्या र गुनासो फोनमार्फत नै राख्न पाउने व्यवस्था हुनुपर्नेमा जोड दिएकी छन्।

उनले आफूले पटकपटक खनाललाई फोन गर्दा स्वकीय सचिवले ह्वाट्सएपमा कल गर्न आग्रह गर्ने गरेको बताएकी छन्। यही कारण कतिपय अवस्थामा अप्ठ्यारो मानेर फोन नै नगरेको उनको भनाइ छ।

‘जसरी तपाईँले मलाई फोन गर्दा मसँग सीधै फोनमा कुरा गर्नुभयो, त्यसरी नै अन्य सर्वसाधारण नागरिकले पनि फोनमार्फत समस्या र गुनासो पोख्न पाउनुपर्छ, न कि त्यो ह्वाट्सएपमा मात्रै सीमित होस्,’ तामाङले लेखेकी छन्।

सांसदलाई कामको दबाब हुने भए पनि त्यो जनताको समस्या सुन्ने दायित्वबाट अलग हुने आधार बन्न नसक्ने उनको भनाइ छ।

‘हिजोको दिनमा तपाईँ कसैको छोरा, कसैको भाइ मात्र हुनुहुन्थ्यो होला, तर आज तपाईँ तीन करोड जनताको साझा छोरा हुनुहुन्छ,’ उनले लेखेकी छन्।

आफ्नो भनाइको उद्देश्य खनालको आलोचना गर्नु नभई जनतासँग प्रत्यक्ष सम्पर्क र संवादको सहज माध्यम हुनुपर्छ भन्ने रहेको तामाङले स्पष्ट पारेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>