चितवन विशेष

बेथिति बढेको भन्दै अनेरास्ववियु चितवनद्वारा भरतपुर अस्पतालको ध्यानाकर्षण

Banner

चितवन, वैशाख १०  –

भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याको चाङ रहेको भन्दै अनेरास्ववियु चितवनले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

अस्पतालका मेसु डा श्रीराम तिवारीलाई एमाले निकट अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले १७ बुँदे समस्या र सुझावका विषयसहित विज्ञप्ति बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा अस्पतालभित्र चरम राजनीतिक खिचातानी, बेथिति र व्यवसाय केन्द्रित गतिविधिले सेवाग्राहीहरू समस्यामा परेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरबाट स्वास्थ्य उपचारको लागि हजारौं मानिसहरू आउने चितवन जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पताल भित्रको चरम राजनीतिक खिचातानी, बेथिति र व्यवसाय केन्द्रित गतिविधिले सेवाग्राहीहरु समस्यामा परेका छन् । अस्पताल भित्रका अवैध गतिविधि र बेथितिहरुलाई अनेरास्ववियु जिल्ला कमिटी चितवनले केही समय अगाडिदेखि नजिकबाट सुक्ष्मरुपमा नियालिरहेको छ । अस्पतालका गतिविधि, समस्या र समाधानको लागि हाम्रो संगठनले निम्नलिखित बँुदामा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछौं ।’

अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको बेवास्ता गरिएमा जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले विज्ञप्तिमा दिएको छ । विज्ञप्ति बुझ्दै अस्पतालका मेसु डा तिवारीले अनेरास्ववियुले उठाएका अधिकांश समस्याहरु अस्पतालमा रहेको स्वीकार गर्दै त्यसलाई सुधार गर्न आफू निरन्तर लागिरहेको बताए । आफू मेसु भएर आएको पाँच महिना भएको र त्यस यता यी समस्या समाधान गर्न दैनिक डायरी बनाएरै लागेको उनको भनाइ छ ।

अनेरास्ववियु चितवनले अस्पताललाई बुझाएको १७ बुँदे समस्या र सुझाव के के छन् ?

१) बिगत १ वर्ष अगाडिदेखि अनियमित ढंगले बिना सूचना नियुक्ति भएका झण्डै ७५ जना कर्मचारी कुन कुन दरबन्दी, योग्यता र पदमा नियुक्ति भएका छन्, तत्काल छानबिन गरी नियुक्ति दिने दोषी उपर कारबाही गरी नियुक्ती खारेज गर्नुपर्ने ।

२) भरतपुर अस्पताल फार्मेसीमा स्वास्थ बिमा सेवा लिने बिरामीलाई अति आवश्यक पर्ने जीवन रक्षक औषधि तथा सर्जिकल जन्य सामग्रीहरू उपलब्ध नगराई अभाव सृजना गराइएकोले किन कृतिम अभाव सृजना गरियो ? फार्मेसी सञ्चालक ÷ व्यवस्थापन गर्ने माथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने । औषधि सहजरूपमा बितरण हुनुपर्ने ।

३) अस्पतालमा टेण्डर मार्फत् र सिधा खरिद गरिएका सामग्रीहरू गुणस्तरहिन र मापदण्ड विपरीत भएकोले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने ।
४) अस्पताललाई आवश्यक पर्ने कम्प्युटर सहायकलगायतका पद सम्बन्धित विषयको योग्यता भन्दा बाहिरको ठेकेदार तर्फ बाट र आफूखुसी आफन्तको आधारमा अस्पतालमा अस्थायी करारमा नियुक्ति गरेको पाइएकोले तत्काल त्यस्ता नियुक्ती खारेज गरी सम्बन्धित योग्यताका कर्मचारी सार्वजनिक सूचना निकालेर परीक्षा प्रणाली मार्फत् नियुक्त गर्नुपर्ने ।

५) कम्प्युटर सहायक भनी नियुक्त गरेका कर्मचारीको उक्त कामसँग सम्बन्धित शैक्षिक योग्यता वा तालिमसम्म पनि नभएको, कम्प्युटर र काम बारे पनि जानकारी नभएको व्यक्ति लाई ठाडो नियुक्ति दिएकोले यस्ता नियुक्ति खारेज गरी नियुक्ति दिने व्यक्ति माथि कारबाही गर्नुपर्ने ।
६) अस्पतालमा २०८० फागुन २१ गते चेक जाँच गराउँदा बिरामीलाई अप्रेसनको लागि एक वर्ष पछिको मिति (२०८१ माघ २६ गते) दिइएको विषयले बिरामीको स्वास्थ्य माथि चरम खेलवाड भएको छ । जनताको स्वास्थ्यमा खेलवाड किन भयो ? छानबिन गरी सेवाबाट बर्खास्ती गर्नुपर्ने ।

७) भरतपुर अस्पताल भित्र सञ्चालनमा रहेको नर्सिङ कलेजलाई हालसालै विकास समितिबाट निर्णय गरी अस्पताल परिसर भन्दा बाहिर कुनै घर भाडामा लिई चलाउने गरी तत्काल घर भाडाको लागि टेण्डर आह्वानको तयारी भएको कुरा बुझिन आएकोले यस्तो प्रकारको गलत कार्य नगर्न ÷ नगराउन अनुरोध गर्दछौं ।

८) जनता एवम् सेवाग्राहीलाई स्वास्थ बिमाबाट प्राप्त हुने बास्तविक भएको औषधि संख्या कति र कुन कुन हुन् ? हाल कति प्रकारका कुन कुन औषधि उपलब्ध छन् ? सार्वजनिक गरी बिमामा प्राप्त हुने तर लामो समय देखि फार्मेसीमा नपाइएको, डाक्टरले लेखाएको बिमामा पाइने ६ वटा मध्ये २ वटा औषधि मात्रै पाइने र अरू नपाइने बारे आवश्यक जाँचबुझ गरी कारबाही गर्नुपर्ने ।
९) टेण्डर भएको औषधि तथा सर्जिकलजन्य सामग्रीको संख्या र फार्मेसीमा उपलब्ध रहेको औषधि हरेक हप्ता सार्वजनिक गर्नुपर्ने ।
१०) गरिब तथा विपन्न परिवारलाई निःशुल्करूपमा बितरण गर्ने औषधि कति प्रकारको कुन कुन रहेको छ ? कुन औषधि टेण्डर भयो र कुन औषधि कति मात्रामा रहेको छ ? हरेक हप्ता सार्वजनिक गरि निःशुल्क औषधि पाउने काउन्टर २४ सै घण्टा खोल्नुपर्ने ।
११) करार सेवाका कर्मचारीलाई नियम विपरीत लामो बिदा स्विकृत गर्ने गरिएको पाइएको छ । लामो बिदाले जनतालाई स्वास्थ सेवामा असर पर्ने भएकोले आवस्यक छानबिन गरी कारबाही गर्नुपर्ने ।
१२) बिगत लामो समयदेखि अस्पतालको ल्याबमा रहेको मेसिनहरू ब्याकअपको नाममा सिधा खरिद गरी कुनै डोनेशनको नाममा भित्र्याइएको जानकारीमा आएकोले यो नियम विपरीत रहेको र रि एजेन्टको खेलमा गरिएको कार्य तत्काल बन्द गरी नयाँ मेसिन के कति कारणले बिना टेण्डर भित्र्याइयो ? यसबारे छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने ।
१३) ल्याबको बायोकेमेस्टी एनलाइजर बीएस ४८० क्षमता भइरहेकोमा कुनै कानुनी प्रक्रिया पूरा नगरी सिधै दोब्बर क्षमताको फुल्ली अटोमेटिक बायो केमेस्टी अनालाइजर मेसिन राखिएको छ । उक्त मेसिन कुन प्रक्रियाबाट कसरी रिएजेन्ट मार्फत खरिद गरिएको छ ? तत्काल सार्वजनिक गर्नुपर्ने ।

१४) अस्पताल भित्रको ल्याब घाटामा रहेको कुरा बाहिर जनमानसमा हल्ला फैलिएकोले ल्याब नाफा वा घाटामा रहेको छ ? सार्वजनिक गर्नुपर्ने ।

१५) ल्याबमा बारकोड सिस्टम लागू भएता पनि कर्मचारीले प्राइभेटबाट संकलित नमुना ल्याई हाल्ने गरेको कुरा जानकारीमा आएकोले रिपोर्ट रि एजेन्टको रेसियो तत्काल हेरि चुहावट भएको खण्डमा चुहावट रोकी आवश्यक कारबाही गर्नुपर्ने ।

१६) टेण्डर भएको सर्जिकलजन्य सामान गुणस्तर परीक्षणको नाममा लो व्रिडर लाई नदिई माथिल्लो व्रिडरलाई टेण्डर पारेको देखिन आएकोले व्यक्तिगत लाभको लागि गरिएको उक्त कार्यको छानबिन गरी दोषीउपर कडा कारबाही गर्नुपर्ने ।
१७) अस्पतालमा खरिद भएको सरसफाइजन्य सामग्री, स्टेसनरी, टेप, गज, कटन र कम्प्युटर जन्य सामान स्पेकमा लेखिए अनुसार नभएको सूचना पाइएकोले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>