चितवन विशेष
भोटेकोशी बाढीमा बेपत्ता भरतपुरका ६ जनाको विवरण सार्वजनिक, दाबी विरोधका लागि ३ दिनको म्याद

भरतपुर, मङ्सिर ८-
भरतपुर महानगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका महानगरपालिकाका ६ जना बासिन्दाको विवरण सार्वजनिक गर्दै दाबी विरोधका लागि आह्वान गरेको छ। महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।
महानगरले सार्वजनिक गरेको सूचीमा भरतपुर–५ का ४० वर्षीय महेश नेपाली, ६२ वर्षीय राजु चापागाई, भरतपुर–६ का ५१ वर्षीय विश्वनाथ पौडेल, भरतपुर–४ का ५१ वर्षीय राजकुमार पुलामी मगर, भरतपुर–८ का ४४ वर्षीय इन्द्र अधिकारी, भरतपुर–१४ का ३७ वर्षीय विक्रम उपाध्याय रहेका छन् ।
महानगरपालिकाका अनुसार २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका तथा भरतपुर महानगरपालिकाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूको विवरण सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस पत्रका आधारमा तयार पारिएको छ। स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट हाल उक्त विवरणको जाँचबुझ तथा प्रमाणीकरण गर्ने कार्य भइरहेको सूचनामा उल्लेख छ।
दाबी विरोधको प्रक्रिया र अन्तिम विवरणसूचनामा बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको नाम, थर, ठेगाना वा अन्य विवरणमा कुनै त्रुटि भएमा अथवा निजहरूका सम्बन्धमा कसैको कुनै हकदाबी, विरोध वा उजुरी भएमा सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आवश्यक प्रमाण र कागजातसहित कार्यालयमा उपस्थित भई लिखित रूपमा दाबी विरोध पेस गर्न भनिएको छ।
तोकिएको म्यादभित्र कुनै दाबी विरोध नपरेमा वा प्राप्त दाबी विरोधको जाँचबुझ गरी बेपत्ता व्यक्तिको अन्तिम विवरण ‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ बमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने महानगरपालिकाले जनाएको छ।
























