चितवन विशेष
संकल्पपत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन सम्पन्न

चितवन, मंसिर ०१-
गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन १३ बुँदे मौलाकालिका संकल्पपत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, बलझुण्डी दाङको आयोजनामा नवलपुरको गैंडाकोटस्थित मौलाकालिका संस्कृत विद्यापीठ तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर परिसरमा कार्तिक २८ गतेदेखि ३० गतेसम्म तीनदिने सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न गुरुकुलका सञ्चालक, पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य गुरुकुल शिक्षा प्रणालीको संरक्षण, संवद्र्धन, विकास र विस्तार गर्दै वर्तमान समयका चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्ने गरी संकलल्प पत्र जारी गरिएको सदस्य सचिव रामचन्द्र कंडेलले जानकारी दिए ।
सम्मेलनले नेपालको मौलिक वैदिक परम्परा, संस्कृत शिक्षा, धार्मिक तथा नैतिक मूल्य–मान्यताको संरक्षण गर्दै गुरुकुल शिक्षालाई समयानुकूल र प्रभावकारी बनाउने प्रतिबद्धतासहित १३ बुँदे संकल्पपत्र जारी गरेको हो ।
संकल्पपत्रमा गुरुकुलहरूको प्रवद्र्धन र विकासका लागि सामूहिक एकता तथा सहकार्य गर्ने, वैदिक परम्परा र पौरस्त्य धर्मसंस्कृतिको संरक्षण गर्दै आधुनिक आवश्यकतालाई आत्मसात् गर्ने, गुरुकुल शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने र गुरुकुलबीच देखिने आन्तरिक तथा बाह्य समस्यालाई संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी गुरुकुलहरूको भौतिक सम्पत्तिको संरक्षण, स्रोत वृद्धि तथा प्रभावकारी सञ्चालन, गुरुकुल परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने, शिक्षक तथा कर्मचारीको क्षमता विकास गर्ने र विद्यार्थीलाई योग्य, नैतिकवान् तथा प्रतिस्पर्धी बनाउने विषयलाई पनि संकल्पपत्रमा समेटिएको छ । त्याग, दान, पवित्रता, सेवा, सदाचार र स्वाध्यायलाई गुरुकुल शिक्षाका आधारभूत जीवनमूल्यका रूपमा आत्मसात् गर्ने उल्लेख गरिएको छ । सम्मेलनका क्रममा संस्कृत शिक्षाको अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषणका सम्भावना तथा गुरुकुल शिक्षा प्रणालीको प्रभावकारी विस्तारका विषयमा समेत छलफल गरिएको थियो ।
आयोजक नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, मौलाकालिका धार्मिक सेवा समिति गैंडाकोट र मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम) को सहकार्यमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले गुरुकुल शिक्षाको संरक्षण र विस्तारसँगै संस्कृत भाषा, वैदिक ज्ञान, नैतिक शिक्षा तथा आध्यात्मिक संस्कृतिको प्रवद्र्धनमा नयाँ ऊर्जा र साझा प्रतिबद्धता थप्ने अपेक्षा गरिएको छ ।





















