राजनीति
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्णः महासचिव पोखरेल

लमजुङ, कात्तिक १९ –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको संयुक्त आयोजनामा आज बेँसीसहर नगरपालिका(७ मा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उहाँले युवाहरू राजनीतिबाट टाढिन नहुने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै राजनीतिलाई बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवाहरूलाई आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारलगायत क्षेत्रमा विकासलाई तीव्रता दिन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्ने उहाँले बताउनुभयो ।
देशको आर्थिक तथा रोजगारीको अवस्थाबारे चर्चा गर्दै पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढिरहेको बताउनुभयो । कृषि पेसाबाट बाहिरिने जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको उहाँको भनाइ छ ।
स्वदेशमा रोजगारीका अवसर सृजनाका लागि निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेकामा महासचिव पोखरेलले जोड दिनुभयो । ती क्षेत्रको पर्याप्त विस्तार हुन नसक्दा नागरिकले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।























