Breaking News
नेपाली श्रमिकका लागि मलेसियामा रोजगारी बन्द

काठमाडौँ,कात्तिक ११-
नेपाली अदक्ष श्रमिकको आकर्षक गन्तव्य मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । अब नेपाल र मलेसिया सरकारबीच श्रमिक पठाउने म्यानपावर कम्पनीको विवाद समाधान नभएसम्म मलेसियाको रोजगारी खुल्ने छैन ।
मलेसियाले १५ असोजदेखि नयाँ श्रमिकको बायोमेडिकल (स्वास्थ्य परीक्षण) गर्न बन्द गरेपछि नयाँ भिसा (कलिङ भिसा) जारी हुन रोकिएको हो । मलेसिया सरकारको ‘फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका ३६ स्वास्थ्य परीक्षण संस्थाले स्वास्थ्य परीक्षण रिपोर्ट जारी गरेपछि मात्रै मलेसियाको भिसा जारी हुन्छ । एफडब्लूसीएमएस सञ्चालन गर्ने जिम्मेवारी पाएको वेस्टिनेट एसडीएनले नेपालका लागि सूचीकृत २५ म्यानपावर कम्पनी (मलेसियाबाट प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी मान्यताप्राप्त) का तर्फबाट बायोमेडिकल दर्ता गरेपछि मात्रै स्वास्थ्य परीक्षण हुने जनाएको छ ।
वेस्टिनेट कम्पनीले प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सीको सक्रियता भएपछि मात्रै नयाँ मेडिकल दर्ता हुने उल्लेख गरेको छ । ‘१५ असोजदेखि मलेसिया जाने श्रमिकको बायोमेडिकल गरेका छैनौं,’ एक स्वास्थ्य व्यवसायीले भने, ‘यो परीक्षण मलेसियाको भिसाका लागि चाहिन्छ । अब नयाँ प्रणालीमा लागू हुने जानकारी आएको छ ।’
मलेसियाले गत भदौमा सूचीकृत गरेको २५ प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र २५० सहायक रिक्रुटमेन्ट एजेन्सीलाई नेपालले अनुमति दिएको छैन । युवा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती २५ म्यानपावर एजेन्सी छनोटको विषयमा आपत्ति जनाउँदै आएको छ । श्रम मन्त्रालयले यो विषयलाई दुई देशको संयन्त्र संयुक्त कार्यदलबाट टुंगाउने भन्दै बैठक गर्न दुई वटा मिति नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ प्रस्ताव गरेको छ । मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपाल सरकारले जनाएको छ ।
‘श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै पक्षबीच आपसी सहमतिबाट नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा छ,’ श्रममन्त्री रामजी यादवको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ, ‘प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै नेपाल र मलेसियाबीच भएको समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।’
६ अक्टोबरमा मलेसियाका श्रममन्त्री रमानन रामकृष्णानले नेपाली समकक्षी रामजी यादवलाई लेखेको पत्रमा म्यानपावर कम्पनी छनोटसम्बन्धी निर्णयमा मलेसिया सरकार अडिग गरेको बताएका छन् । ‘मन्त्रिपरिषद्मा गहन छलफल तथा परामर्शपछि यस सम्बन्धमा मलेसिया सरकारको अन्तिम निर्णय कूटनीतिक माध्यमबाट जानकारी गराउन चाहन्छु,’ पत्रमा भनिएको छ, ‘मलेसिया सरकार श्रमिक भर्नासम्बन्धी हालको संरचनालाई निरन्तरता दिने आफ्नो अडानमा दृढ छ । विशेष रूपमा मलेसियाले २५ वटा मुख्य म्यानपावर कम्पनी छनोट गर्ने र ती प्रत्येक कम्पनीअन्तर्गत १० वटाका दरले सहायक म्यानपावर एजेन्सी रहने व्यवस्था कायम रहनेछ ।’
श्रम मन्त्रालयले कूटनीतिक तहबाटै समाधान गर्ने भने पनि वैदेशिक रोजगार विभागले २५ म्यानपावर कम्पनीका सञ्चालकमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई ती सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । उनीहरूलाई ३५ दिनभित्र सम्पर्कमा नआएमा बैंकिङ कारोबारको खाता र यात्रा अनुमति रोक्ने सूचना सोमबार सार्वजनिक गरेको छ ।























