खेलकुद
एनपीएल : नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचानमा ‘ट्रनिङ–प्वाइन्ट’

काठमाडौं ,कात्तिक ९
कुनै समय नेपालमा क्रिकेटलाई सीमित खेलका रूपमा हेरिन्थ्यो । क्रिकेट खेल्ने र हेर्नेहरूको जमात बढ्दै गए पनि यसलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्ने सम्भावनाबारे पर्याप्त बहस हुँदैनथ्यो । तर टी–२० क्रिकेटको लोकप्रियता जब चुलियो तब नेपाली खेलप्रेमीहरुमाझ क्रिकेटप्रतिको दृष्टिकोण बदलियो । अहिले त्यो दृष्टिकोण फराकिलो बन्दै नेपाल प्रिमियर लिग (एनपीएल)सम्म आइपुग्दा परिवर्तनले बृहत गति लिएको छ ।
एनपीएल नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय पहिचान र खेलकुदलाई उद्योगका रूपमा स्थापित गर्ने सम्भावनाको महत्त्वपूर्ण माध्यम बनेको अग्रज खेल पत्रकारहरूले प्रतिक्रिया दिएका छन । उनीहरूका अनुसार एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर सिर्जना गर्नुका साथै खेलकुद पत्रकारिताको शैली, प्रविधि र जिम्मेवारीमा समेत परिवर्तन ल्याएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा खेल पत्रकार महेश आचार्य, लक्ष्मण कार्की र रोशन सिंह राउतले एनपीएलको महत्त्व, नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको प्रगति तथा विगत र वर्तमानको खेलकुद रिपोर्टिङबीचको भिन्नताबारे आफ्नो धारणा राखे ।
आचार्यका अनुसार एनपीएल अहिले नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख उत्पादनका रूपमा स्थापित हुँदै गएको छ । अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, प्रतियोगिताको बढ्दो लोकप्रियता र आयोजनामा देखिएको परिपक्वताले यसलाई थप आकर्षक बनाएको उनको भनाइ छ ।
उनले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा सुधार देखिएको र आगामी संस्करणहरू अझ व्यवस्थित तथा उत्कृष्ट हुने अपेक्षा गरिएको बताए । टेस्ट राष्ट्रका खेलाडीहरूको सहभागिता र प्रतियोगिताको बढ्दो स्तरले नेपाल प्रिमियर लिगलाई थप उचाइमा पुयाउने उनको विश्वास छ ।
उनले भने, ‘क्रिकेट एसोसिएसन अफ नेपालले यसलाई आफ्नो प्रिमियम प्रोडक्टको रूपमा सेल गरिरहेको वा डेभलप गरिरहेको छ । इन्टरनेसनल खेलाडीहरूको उपस्थिति अर्थात जुन लेभल वा स्ट्यान्डर्डको प्लेयरहरू अहिले आउन थालेका छन् यसले प्रिमियर लिगलाई माथि पुयाउछ ।’
आचार्यका अनुसार एनपीएलको महत्त्व क्रिकेट प्रतियोगितामा मात्र सीमित छैन । यसले अन्तर्राष्ट्रिय क्रिकेटको नक्सामा नेपालको उपस्थिति बलियो बनाउनुका साथै खेलकुदलाई आर्थिक गतिविधि र उद्योगका रूपमा विकास गर्ने सम्भावना पनि देखाएको छ ।
अन्तर्राष्ट्रिय खेलाडीहरू नेपालमा आएर खेल्दा उनीहरूले यहाँको वातावरण, संस्कृति र पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष अनुभव गर्ने तथा आफ्नो देश फर्किएपछि सामाजिक सञ्जालमार्फत ती अनुभव साझा गर्ने भएकाले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने आचार्यको विश्लेषण छ ।
उनले एनपीएलमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा खेलकुदको व्यावसायिक विकासले गति लिने अपेक्षा पनि व्यक्त गरे । प्रतियोगिताले खेलकुदलाई मनोरञ्जन वा प्रतिस्पर्धामा मात्र सीमित नराखी आर्थिक गतिविधिसँग जोड्ने आधार तयार गरिरहेको बताए ।
प्रविधिसँगै बदलियो खेलकुद पत्रकारिताको स्वरूप
नेपाली खेलकुद पत्रकारितामा विगत र वर्तमानबीच ठूलो परिवर्तन आएको आचार्यको अनुभव छ । सन् २००१ मा खेलकुद पत्रकारिता सुरु गर्दा क्रिकेटको रिपोर्टिङ गर्न आवश्यक आधारभूत सुविधा र इन्टरनेटको पहुँचसमेत सहज नभएको उनले स्मरण गरे ।
त्यतिबेला त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर खेलको स्कोर र अन्य विवरण डायरीमा टिपोट गर्ने तथा कार्यालय फर्किएपछि त्यसकै आधारमा समाचार तयार पार्ने अवस्था रहेको उनले बताए ।
इन्टरनेट र डिजिटल प्रविधिको विकासले समाचार सङ्कलन, तथ्यको पहुँच र समाचार सम्प्रेषणलाई अहिले सहज बनाएको उनको भनाई छ । खेलकुद पत्रकारले पहिलेभन्दा छिटो सूचना प्राप्त गर्न र पाठकसम्म पुयाउन सक्ने अवस्था बनेको उनले बताए ।
पत्रकारिताको शैलीमा आएको परिवर्तनसँगै क्रिकेट खेलिने पूर्वाधारमा पनि उल्लेखनीय सुधार भएको उनको भनाइ छ । विगतमा कीर्तिपुरस्थित मैदानमा दर्शकहरूले घाँसमा बसेर धुलो, हिलो र पानीको सामना गर्दै खेल हेर्नुपर्ने अवस्था थियो । अहिले भने व्यवस्थित रङ्गशाला निर्माण भएसँगै खेल हेर्ने वातावरणमा परिवर्तन आएको उनले बताए ।
आचार्यका अनुसार क्रिकेटको विकाससँगै त्यसको रिपोर्टिङ गर्ने शैलीमा आएको सुधार पनि नेपाली खेलकुदको समग्र प्रगतिको एउटा उदाहरण हो ।
एनपीएल ः क्रिकेट ग्ल्यामर, अर्थतन्त्र र राष्ट्रिय पहिचानसम्म
यसैगरी खेल पत्रकार लक्ष्मण कार्कीका अनुसार एनपीएलले नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको आकर्षण, प्रतिस्पर्धा र व्यावसायिकताको नयाँ आयाम थपेको उनको भनाई छ । प्रतियोगिताले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी अर्थतन्त्र, सामाजिक एकता र राष्ट्रिय पहिचानसँग जोड्ने काम गरेको उनको विश्लेषण छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा कार्कीले एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्राविधिक, व्यावसायिक र लोकप्रियताका दृष्टिले उल्लेखनीय प्रगति गरेको बताए । अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग तथा खेल पूर्वाधारमा भएको सुधारले एनपीएललाई नयाँ उचाइमा पुयाएको उनको भनाई छ ।
तीन वर्षमा बदलिएको स्वरूप
विश्व क्रिकेटमा टी–२० प्रारूपको विस्तारले खेलप्रतिको आकर्षण र प्रस्तुति दुवैमा परिवर्तन ल्याएको कार्की बताउँछन् । छोटो समयमा धेरै रन बन्ने, चौका–छक्काको रोमाञ्चकता र खेलको तीव्र गतिले क्रिकेटलाई थप आकर्षक बनाएको उनको भनाइ छ । यही स्वरूपले क्रिकेटमा ग्ल्यामर र व्यावसायिकताको सम्भावना बढाएको छ ।
नेपालमा पनि एनपीएल सुरु हुनुअघि छोटो प्रारूपका क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रयास भएका थिए । तर ती प्रयासले अपेक्षित सफलता हासिल गर्न नसकेको कार्कीको विश्लेषण छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना गर्न थालेपछि भने नेपालमा पनि विश्व क्रिकेटमा विकसित हुँदै गएको टी–२० को आकर्षण विस्तार भएको उनले बताए ।
आन्द्रे रसेल र डेभिड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीको सहभागिताले नेपाली दर्शकमा थप उत्साह जगाएको कार्कीको धारणा छ । टेलिभिजनमा देखिएका खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष खेलिरहेको हेर्न पाउनु क्रिकेटप्रेमीका लागि विशेष अनुभव बनेको उनले बताए ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट निर्माण तथा खेल पूर्वाधारमा भएका सुधारले पनि प्रतियोगिताको आकर्षण बढाएको उनको भनाइ छ ।
‘तीन वर्षमा नै एनपीएलले प्राविधिक पक्ष, फ्यान फलोइङ र अन्तर्राष्ट्रिय मान्यताका हिसाबले ठूलो उचाइ हासिल गरेको जस्तो लाग्छ,’ कार्कीले भने ।
खेलकुद पत्रकारिता : परम्परागत माध्यमदेखि डिजिटल प्लेटफर्मसम्म
एनपीएलको विकाससँगै यसको रिपोर्टिङ गर्ने माध्यम र शैलीमा पनि परिवर्तन आएको कार्की बताउँछन् । पहिले पत्रपत्रिका, रेडियो र टेलिभिजन खेलकुद पत्रकारिताका प्रमुख माध्यम थिए । अहिले भने सामाजिक सञ्जाल, युट्युब च्यानल र डिजिटल कन्टेन्ट क्रिएटरहरूले पनि खेलकुद सामग्री उत्पादन र प्रसारमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
उनका अनुसार परम्परागत सञ्चारमाध्यममा नियमित खेलकुद रिपोर्टिङ हुँदै आएको छ । त्यससँगै क्रिकेटलाई नै केन्द्रमा राखेर सञ्चालन गरिएका युट्युब च्यानल र सामाजिक सञ्जालका सामग्रीले खेलबारे छलफल र विश्लेषणको दायरा विस्तार गरेका छन् ।
एनपीएलको चर्चा नेपालमा मात्र सीमित नरहेको उल्लेख गर्दै कार्कीले भारतीय खेलकुद कन्टेन्ट क्रिएटर र युट्युब च्यानलहरूले समेत प्रतियोगिताबारे सामग्री प्रस्तुत गर्न थालेको बताए । यसले प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा समेत दर्शकको ध्यान आकर्षित गरिरहेको सङ्केत गर्ने उनको भनाइ छ ।
तर रिपोर्टिङको बढ्दो मात्रा र लोकप्रियतासँगै पत्रकारिताको आलोचनात्मक पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने कार्कीको धारणा छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नयाँ पहिचान
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रमुख आधारका रूपमा सगरमाथा र बुद्धलाई लिने गरिन्छ । तर पछिल्लो समय क्रिकेट पनि नेपालको पहिचान विस्तार गर्ने माध्यमका रूपमा विकसित हुँदै गएको कार्कीको भनाइ छ ।
एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र प्रतियोगिताप्रति बढ्दो दर्शक आकर्षणले नेपालको क्रिकेटलाई विश्वव्यापी चर्चासँग जोड्न सहयोग गरेको उनले बताए ।
यसैगरी वरिष्ठ खेल पत्रकार रोशन सिंह राउतले एनपीएललाई नेपाली क्रिकेटको स्तर अन्तर्राष्ट्रियकरण गर्ने महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरे । उनका अनुसार प्रतियोगिताका पछिल्ला संस्करणसँगै अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, खेल सञ्चालनको स्तर र प्रविधिको प्रयोगमा सुधार हुँदै गएको छ ।
उनले एनपीएलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता र डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोगलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे ।
यद्यपि प्रविधिको प्रयोगले खेलकुद पत्रकारको जिम्मेवारी पनि थपेको राउतको भनाइ छ । क्रिकेटका नियममा हुने परिवर्तन, डीआरएसको कार्यप्रणाली र विवादित निर्णयहरूको प्राविधिक पक्ष बुझ्नु अहिलेका पत्रकारका लागि आवश्यक भएको उनले बताए ।
‘हामीले पहिलेभन्दा धेरै आफूलाई परिमार्जित गरेर लैजानुपर्छ । कुन नियम परिवर्तन भएका छन्, डीआरएसले कसरी नतिजा दिन्छ भन्ने विषयमा जानकार हुनुपर्छ,’ राउतले भने ।
खेलको प्रत्यक्ष विवरण प्रस्तुत गर्नु मात्र पत्रकारिताको उद्देश्य नभइ खेलका नियम, निर्णयको आधार र प्रविधिको प्रभावबारे स्पष्ट जानकारी राखेर समाचार सम्प्रेषण गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ । पत्रकारहरूले निरन्तर अध्ययन, अभ्यास र आफ्नो ज्ञान अद्यावधिक गर्नुपर्ने उनले बताए ।
राउतले नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रगति गरे पनि त्यसलाई निरन्तरता दिन थप सुधार आवश्यक रहेको धारणा राखे । नेपालले नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउनु सकारात्मक भए पनि एकदिवसीय क्रिकेटतर्फको क्षमता विस्तार र टेस्ट क्रिकेटतर्फ अघि बढ्न आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।























