Breaking News
एनपीएल खेल्ने पाकिस्तानी खेलाडीको एनओसी रोकियो, सहभागितामा अन्योल

काठमाडौं,कात्तिक ९-
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअघि पाकिस्तानी खेलाडीको सहभागितामा अन्योल देखिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता खेल्ने खेलाडीलाई आवश्यक एनओसी दिने प्रक्रिया रोकेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
एनपीएल सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुन केही पाकिस्तानी खेलाडी नेपाल पुगिसकेका छन् । तर, पीसीबीले एनओसी नदिँदा उनीहरूले प्रतियोगिता खेल्न पाउने वा नपाउने भन्ने टुङ्गो लागेको छैन । ईएसपीएनको रिपोर्ट उद्धृत गर्दै दैनिक भास्करले पीसीबीले प्रत्येक खेलाडीसँग करिब २५ हजार अमेरिकी डलर शुल्क माग्न सक्ने जनाएको छ । यद्यपि, उक्त रकम माग गरिएको विषयमा पीसीबीको लिखित सूचना सार्वजनिक भएको पुष्टि नभएको समाचारमा उल्लेख छ ।
एनओसी राष्ट्रिय क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई विदेशी लिगमा सहभागी हुन दिने अनुमति हो । विदेशी टी–२० लिगमा खेल्न फ्रेन्चाइजसँगको सम्झौता मात्र पर्याप्त हुँदैन, सम्बन्धित राष्ट्रिय बोर्डको अनुमति पनि आवश्यक पर्छ ।
रिपोर्टअनुसार पीसीबीको निर्णयबाट पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मीरको सहभागितामा असर पर्न सक्छ । इफ्तिखार अहमद एनपीएलको टोली जनकपुर बोल्ट्सबाट खेल्न नेपाल पुगिसकेका छन् ।
पीसीबीले यस वर्ष केन्द्रीय सम्झौताको नयाँ व्यवस्था ल्याएको थियो । उक्त व्यवस्थाअन्तर्गत टेस्ट र सीमित ओभरका क्रिकेट खेलाडीबीच फरक छुट्याउँदै टी–२० विशेषज्ञ खेलाडीलाई अन्तर्राष्ट्रिय खेल तालिकासँग नजुध्ने अवस्थामा विदेशी लिग खेल्ने अवसर बढाउने नीति अघि सारिएको थियो ।























