देश/प्रदेश
बिर्तामोडको बडी ग्यारेजमा आगलागी : तीन लाखको क्षति

झापा , कात्तिक ५ –
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन् भने एक जनाको जलेर मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ४ः१० बजे भएको आगलागीमा परी क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार, बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो । ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी हुँदा गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको ज्यान गएको हो ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो ।























