देश/प्रदेश

१० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित

०
Banner

सुशीलबाबु थकाली,

मुस्ताङ , असोज ३१-

मुस्ताङमा यस वर्ष स्याउ उत्पादन उल्लेख्य वृद्धि हुने अनुमान गरिए पनि बाढीपहिरोका कारण प्रभावित भएको छ ।

बहुचर्चित कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक करिब १५ दिनसम्म अवरुद्ध हुँदा स्याउ निकासी समेत प्रभावित भएको छ ।

मुस्ताङमा करिब १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिए पनि हालसम्म कुल उत्पादनको करिब ३० प्रतिशत बढी मात्रै जिल्ला बाहिर निकासी भएको हो ।

उत्पादन बढ्ने अपेक्षाले उत्साहित किसानलाई स्याउ टिपेर बजारसम्म पु¥याउन सडक अवरोधले चुनौती थपेको हो । बेनी–जोमसोम सडक दुई साताभन्दा बढी अवरुद्ध हुँदा स्याउ ढुवानी ठप्पजस्तै बनेको थियो ।

यसले मुस्ताङस्थित स्याउ किसान तथा व्यापारीलाई उत्पादित स्याउको बिक्री, भण्डारण र व्यवस्थापनमा समस्या पारेको छ ।

यस वर्ष मुस्ताङमा करिब १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको थियो । गत वर्ष जिल्लामा करिब सात हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान गरिए पनि सडक अवरोधका कारण स्याउले समयमै बजार पाउन सकेको छैन । गुणस्तरीय स्याउ बजार पुर्याउन पाउने सपना बोकेका कृषकहरुले यस वर्ष बजार नपाउने होकि भन्ने चिन्ता बढेको देखिन्छ ।

तर,सडक पुनः सञ्चालनमा आएसँगै स्याउ निकासीले गति भने लिन थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका स्याउ किसान निरज तुलाचनका अनुसार सडक खुलेको दुई दिनमै मुस्ताङबाट धमाधम स्याउ बजार पुग्न थालेको छ । तुलाचनका अनुसार सडक सञ्चालनमा आएपछि बजार पठाउन रोकिएका स्याउ निकासी गर्नेक्रम धमाधम बढ्न थालेको छ ।

मुस्ताङको स्याउ देशका विभिन्न सहरमा खपत हुँदै आएको छ । जिल्लाको प्रमुख कृषि उपजका रूपमा रहेको स्याउ खेतीले स्थानीय किसानको जीविकोपार्जन र जिल्लाको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्ष स्याउ बिक्रीबाट करिब दुई अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

तर, उत्पादन बढेको अवस्थामा पनि भरपर्दो सडक र नियमित ढुवानीको अभावले किसानले अपेक्षित लाभ लिन कठिन हुने देखिएको छ । स्याउ टिप्ने समयमा सडक अवरुद्ध हुँदा बजारसम्म पु¥याउन ढिलाइ हुनुका साथै भण्डारण र गुणस्तर कायम राख्ने चुनौतीसमेत थपिएको छ ।

सडक खुलेसँगै निकासी प्रक्रिया अघि बढे पनि बाँकी स्याउ समयमै बजार पु¥याउनु किसान तथा व्यापारीका लागि महत्त्वपूर्ण बनेको छ । उत्पादनको सम्भावना उच्च रहेको यस वर्ष मुस्ताङको स्याउ व्यापारले कस्तो गति लिन्छ भन्ने कुरा अब सडकको नियमित सञ्चालन, ढुवानी व्यवस्थापन र बजारको मागमा निर्भर रहनेछ ।

उत्पादन बढ्नु मुस्ताङका किसानका लागि सुखद पक्ष भए पनि त्यसको वास्तविक लाभ लिन उत्पादित स्याउ समयमै बजारसम्म पु¥याउने भरपर्दो यातायात व्यवस्था अपरिहार्य देखिएको कृषकहरु बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>