चितवन विशेष
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

चितवन, असोज २१-
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न क्लस्टरमा चितवन जिल्लाका १८ जना महाधिवेशन प्रतिनिधिले उमेदवारी दर्ता गरेका छन् । चितवनका दुई जनाले पदाधिकारीमै उमेदवारी दर्ता गरेका छन् । बाँकी १६ जनाले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसको यसअघिको महाधिवेशनमा चितवनबाट यति धेरै जनाको उमेदवारी परेको थिएन । सम्भवतः यति ठूलो सङ्ख्यामा उमेदवारी दर्ता भएको यो पहिलोपटक हो ।
चितवनका दुई नेताले केन्द्रीय सह-महामन्त्रीमा उमेदवारी दर्ता गराएका छन् । चितवन जिल्लाका सचिव धुर्व पोख्रेलका अनुसार चितवनका विकास कोइराला र दिनेश कोइरालाले सह-महामन्त्रीमा उमेदवारी दर्ता गरेका छन् । विकासले खुल्ला सहमहामन्त्री र दिनेशले खस आर्य तर्फ उम्मेदवारी दिएको उनले बताए । विकास कोइराला चितवनका पूर्वजिल्ला सभापति हुन् । कोइराला नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट निर्वाचित भएर २०६७ देखि २०६९ सम्म चितवन जिल्ला सभापतिका रुपमा थिए । दिनेश कोइरालाले खस आर्यतर्फ सहमहामन्त्रीमा उमेदवारी दर्ता गरेका हुन् । कोइराला नेपाली कांग्रेसको चितवन जिल्लाको पहिलो केन्द्रीय सदस्य हुन् । कोइराला यसअघिको १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा खुलामा निर्वाचित भएका थिए । राष्ट्रिय जेसीजको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका कोइरालाले यसपटकको महाधिवेशनमा सह-महामन्त्रीमा उमेदवारी दर्ता गरेका हुन् । कांग्रेस चितवनका पुर्व सभापति जितनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेका छन् ।
प्राडा सूर्यकान्त घिमिरेले केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेका छन् । उनले पेसागत समूहबाट उमेदवारी दर्ता गरेका छन् । कांग्रेसका चितवनका पुराना नेता टेकप्रसाद गुरूङले जनजातितर्फबाट केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेका छन् । उनी पूर्वजिल्ला सभापति हुन् । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद् तथा पूर्वस्वास्थमन्त्री उत्तम जोशीले खुला केन्द्रीय सदस्य, नीलकण्ठ रिजाल, इन्द्रलाल न्यौपाने, सरोज गुरूङ, प्रविन देवकोटा चितवनका थारु समुदायका नेता साजन महतो जनजाति क्लस्टरमा महिलातर्फ गीता गुरूङ, खस आर्य महिलातर्फ सीता सापकोटा, देवकी गौतमले पनि केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेका छन् ।
जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा तारा गुरूङले उमेदवारी दर्ता गरेकी छन् । राष्ट्रिय सभा सदस्य गीता देवकोटाले खस आर्य महिलातर्फ उमेदवारी दर्ता गरेकी छन् । दलित महिलातर्फ शान्ति परियारले केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेकी छन् ।























