स्वास्थ्य
विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

काठमाडौं,असोज २०-
‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ ।
बालबालिका,छात्ररछात्रा,कर्मचारी,मजदूर,किसान,सवारी साधनका चालक आदि सबैको दैनिक जीवनका अधिकांश गतिविधि स्पष्ट दृष्टिमा निर्भर छन् । आँखाका स्वास्थ्यमा देखिने समस्या सधैँ पीडा वा असहजताबाट सुरु हुँदैन । धेरै अवस्थामा दृष्टि कमजोर हुँदै जाँदा पनि यसलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्तिले समस्या जटिल बन्ने नेत्र विशेषज्ञको भनाइ छ ।
यही वास्तविकतालाई केन्द्रमा राखेर असोज २२ मा नेपालमा ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न सङ्घ संस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाउँदैछन् । विश्वभर अन्तरराष्ट्रिय संस्था ‘आइएपिबी’ले अक्टोबर ८ मा ‘आँखालाई माया गरौँ’ अभियान सञ्चालन गर्दैछ । ‘आइएपिबी’का अनुसार विश्वका एक अर्बभन्दा बढी मानिस अझै आफूलाई आवश्यक पर्ने आँखा स्वास्थ्य सेवा र उपचारको पहुँचबाट बाहिर छन् ।
नेपालमा उपचारको पहुँच बढ्यो
नेत्रज्योति सङ्घका अनुसार नेपालमा पछिल्लो दशकमा आँखा स्वास्थ्य सेवा पहुँच उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् १९७८ मा सङ्घ स्थापना हुँदा देशमा आँखा उपचारको अवस्था प्रारम्भिक चरणमा थियो । सीमित पूर्वाधार र न्यून विशेषज्ञ जनशक्तिबाट सुरु भएको सेवा अहिले देशका विभिन्न भूगोलसम्म विस्तार भएको छ । आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले उपचारको पहुँच बढाएको छ ।
यसको सकारात्मक प्रभाव अन्धोपनका अवस्थामा देखिएको छ । सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ । तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् । चुनौतीको स्वरूप परिवर्तन हुँदै गएको छ ।
यससँगै ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन् । बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन् ।
नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार नेपालले उपचारमा उल्लेखनीय प्रगति गरे पनि अबको प्राथमिकता रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका जनसङ्ख्यासम्म पहुँच विस्तारमा हुनुपर्छ । उहाँका अनुसार आँखाको समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई परिवर्तन गर्दै नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक छ ।
नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार अस्पताल र उपचार केन्द्र विस्तारसँगै सेवा नपुगेका समुदाय पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा पु¥याउनुपर्ने अवस्था छ । उहाँले भन्नुभयो“आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी रिफरल प्रणाली र दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता छ ।”
नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले आँखा स्वास्थ्यलाई अस्पताल र उपचारको विषयमा मात्र सीमित गर्ननहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग जोडिएकाले आँखाको स्वास्थ्यमा गरिएको लगानीलाई मानव विकासमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ ।”
सङ्घका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र मार्फत् नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ ।
उपलब्ध तथ्याङ्कहरुले पनि दृष्टि सुधारले विद्यालयको सिकाइ तथा कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन् । नेपालका लागि विश्व दृष्टि दिवस उपलब्धि स्मरण गर्ने अवसर मात्र होइन, आगामी प्राथमिकता निर्धारण गर्ने समय पनि हो । अन्धोपन न्यूनीकरणमा प्राप्त उपलब्धिलाई जोगाउँदै अब कसैले गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा सेवाको अभावका कारण उपचार गर्न सकिने दृष्टि गुमाउन नपरोस् भन्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ ।
आँखाको हेरचाह समस्या आएपछि मात्र सुरु हुने अभ्यासबाट नियमित परीक्षण र रोकथामतर्फ जानुपर्छ । बालबालिकाको दृष्टिमा अभिभावक र विद्यालय सचेत हुनुपर्छ । ज्येष्ठ नागरिक तथा मधुमेहजस्ता जोखिम भएका व्यक्तिले नियमित परीक्षणलाई प्राथमिकता दिनुपर्छ । दृष्टिमा सामान्य परिवर्तन देखिए पनि त्यसलाई बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।
दृष्टि जोगाउनु स्वास्थ्यको विषय मात्र होइन, जीवनका अवसर जोगाउनु पनि हो । एउटा बालबालिकाको दृष्टि जोगिँदा उसको सिकाइ र भविष्य जोगिन्छ । एउटा श्रमिकको दृष्टि जोगिँदा उसको रोजगारी र परिवारको आय जोगिन्छ । एउटा ज्येष्ठ नागरिकको दृष्टि जोगिँदा उसको आत्मनिर्भरता र सम्मान जोगिन्छ । यसैले यस वर्षको विश्व दृष्टि दिवसले दिने सन्देश एउटा दिनको अभियानमा सीमित नभई आँखालाई माया गरौँ, नियमित जाँच गरौँ, समयमै उपचार गरौँ र सबैका लागि दृष्टिको रक्षा गरौँ ।























