चितवन विशेष

माडीका प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी

०
Banner

भरतपुर, असोज १४-

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ प्रविन देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। सोमबार सम्पन्न निर्वाचनको मंगलबार साँझ सार्वजनिक मत परिणामअनुसार देवकोटाले २२७ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्।

यस क्लस्टरमा ३५ वर्षमुनिका ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। चितवनबाट खुल्ला युवातर्फ प्रविन देवकोटा र उमंग लोहनी केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन्।

चितवनको माडी नगरपालिका–४ स्थायी घर भएका देवकोटा यसअघि माडीबाटै निर्विरोध क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए। वि.सं. २०६४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यताबाट राजनीतिक यात्रा थालेका उनी खैरहनी माविमा स्कुल कमिटी सचिव, २०७३ मा जिल्ला सदस्य र २०८२ सालदेखि नेविसंघ चितवन जिल्ला सचिवको जिम्मेवारीमा सक्रिय छन्।

लामो साङ्गठनिक अनुभव र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएका देवकोटा नयाँ सोच, युवा सहभागिता, प्रविधिमैत्री सङ्गठन र पुस्तान्तरणको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका थिए। ‘राजनीति नारामा मात्र होइन, व्यवहारमा देखिने नयाँ सोच र कार्यशैली हुनुपर्छ’, उनी भन्छन्, ‘अग्रजको अनुभव र युवाको ऊर्जालाई एकै ठाउँमा जोडेर कांग्रेसलाई अझ जीवन्त र जनमुखी बनाउनु हाम्रो मुख्य दायित्व हो।’

पेशाले लेखा तथा कर परामर्शदाता रहेका देवकोटा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) अध्ययनरत छन्। युवा माझ लोकप्रीय र स्पष्ट वक्ताका रूपमा चिनिने देवकोटाको जितले कांग्रेसको युवा पंक्तिमा नयाँ ऊर्जा थपेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>