नवलपरासी

नवलपुरको बाढी र डुबानबारे संसद्मा प्रश्नः तत्काल राहत र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण

०
Banner

काठमाडौं, असोज १२ –

अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिङ्गो सुस्ता गाउँ नै डुबानको चपेटामा परेको जानकारी दिनुभयो । स्थानीय प्रशासनले २३५ घरधुरीका ११ सय नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटेपछि पनि विस्थापितहरू अझै घर फर्कने अवस्था नरहेको उहाँले बताउनु भयो ।

सांसद खनालले भन्नुभयो, ‘नदी तटीय क्षेत्रमा बाढी र डुबानले पु¥याएको क्षतिको गम्भीर समीक्षा गर्दै सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस् । साथै, यसको दीर्घकालीन समाधानका लागि विगतमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल ऊर्जा मन्त्रालयबाट झिकाई कार्यान्वयन गर्न जरुरी छ ।’

बाढीका कारण कालीगण्डकी करिडोरमा पुगेको क्षति र बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे तथा पक्की पुलमा भएको क्षतिले नागरिकको आवतजावत ठप्प भएको उहाँले बताउनु भयो । यसका साथै बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोले पु¥याएको क्षतिप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारी र विस्तृत अध्ययनको खाँचो रहेको खनालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>