अर्थ

घरजग्गा कारोबारबाट भदौमा ३ अर्ब ९१ करोड राजस्व संकलन

Banner

काठमाडौं, असोज ३ –

२०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो ।

भदौमा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर (सीजीटी) को रहेको छ । विभागका अनुसार रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै सेवा करबाट १६ करोड ८२ लाख, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरलगायतबाट करीब २ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।

कुल राजस्वको ५५ प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाका ९ वटा कार्यालयबाट संकलन भएको छ । उपत्यकाका कार्यालयबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ ।

उपत्यकाभित्र सबैभन्दा बढी राजस्व संकलन गर्नेमा भक्तपुर कार्यालय अगाडि छ । भक्तपुरले भदौमा ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ । त्यसमध्ये रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ संकलन भएको छ ।

त्यसपछि ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व संकलन गरेको छ । काठमाडौंका कलंकी, चावहिल र डिल्लीबजार कार्यालयले क्रमशः ३७ करोड १२ लाख ५५ हजार ८६६ रुपैयाँ, ३३ करोड ५५ लाख २६ हजार ४५ रुपैयाँ र ३१ करोड ४३ लाख ९४ हजार ८४४ रुपैयाँ राजस्व उठाएका छन् ।

उपत्यकाबाहिर भने कास्कीको पोखरा कार्यालयले सबैभन्दा बढी १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व संकलन गरेको छ । सुनसरीको इनरुवाले १५ करोड ४२ लाख १६ हजार ६८३ रुपैयाँ र रुपन्देहीको बुटवलले ११ करोड ८८ लाख १ हजार ८९ रुपैयाँ उठाएका छन् ।

चितवनले ९ करोड ४६ लाख, भैरहवाले ८ करोड ३६ लाख, विराटनगरले ७ करोड ७६ लाख, वीरगञ्जले ७ करोड ७२ लाख र भद्रपुरले ७ करोड ५१ लाख रुपैयाँ संकलन गरेका छन् । काभ्रे र जनकपुरधामले समान ६ करोड ३८ लाख तथा बेलबारीले ६ करोड ५ लाख रुपैयाँ राजस्व उठाएका छन् ।

दाङका घोराही र तुलसीपुरबाट क्रमशः ५ करोड ३ लाख र ४ करोड ७३ लाख रुपैयाँ, नेपालगञ्जबाट ४ करोड ७६ लाख र धनगढीबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । यसको विपरीत हिमाली तथा विकट पहाडी क्षेत्रमा घरजग्गा कारोबार न्यून देखिएको छ । बाजुराले २२ हजार ६३३ रुपैयाँ, गोरखाको सिर्दिवासले २९ हजार ४०० रुपैयाँ, बझाङको झोताभैरवले ४५ हजार ७२८ रुपैयाँ, डडेल्धुराको जोगबुढाले ९९ हजार ६१४ रुपैयाँ र अछामले १ लाख २८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेका छन् ।

भदौको तथ्यांकले घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा काठमाडौं उपत्यकाको वर्चस्व कायमै रहेको देखाएको छ भने उपत्यकाबाहिर पोखरा, इनरुवा, बुटवललगायतका प्रमुख व्यापारिक केन्द्रमा पनि कारोबारको आधार तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>