Breaking News
चितवनमा अवैध भीओआईपी कल बाइपास सञ्चालन गर्ने एक भारतीय पक्राउ, ठुलो परिमाणमा उपकरण बरामद

चितवन,असोज २-
चितवनको भरतपुरमा गैरकानुनी रूपमा अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका २, आँपटारीबाट २५ वर्षीय भारतीय नागरिक काथराम निथिनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार निथिनले आँपटारीस्थित निर्मला विष्टको घरमा कोठा लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कलहरूलाई बाइपास गरिरहेका थिए । दूरसञ्चार प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलसँगको प्राविधिक समन्वयमा प्रहरीले उक्त स्थान पत्ता लगाई छापा मारेको थियो ।
अनुसन्धानका क्रममा उनले अवैध कल बाइपासमार्फत राज्य र दूरसञ्चार सेवा प्रदायकलाई ठूलो राजस्व घाटा पुर्याइरहेको पाइएको छ । प्रहरीले छापा मार्ने क्रममा अवैध भीओआईपी सञ्चालनमा प्रयोग भएका ठुलो परिमाणका आधुनिक प्राविधिक उपकरणहरू बरामद गरेको छ । बरामद सामग्रीहरूमा २६ थान विभिन्न कम्पनीका मोबाइल सेट, २ थान ल्यापटप, एनसेलका ७७ थान तथा नेपाल टेलिकमका १८ थान गरी कुल ९५ थान सिमकार्ड रहेका छन् ।
त्यसैगरी ४ थान सीपीयू, १ थान इन्भर्टर, २ थान ब्याट्री, २० पोर्ट भएका ६ थान यूएसबी हब, ३३ थान यूएसबी सेलुलर मोडेम, ३० थान ‘यूएसबी ओटीजी टु अडियो केबल’, ५ पोर्टको १ थान नेटवर्क स्वीच, २ थान इन्टरनेट राउटर र विभिन्न प्रकारका डेटा केबलहरू नियन्त्रणमा लिइएको छ । पक्राउ परेका निथिनविरुद्ध दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिए । घटनामा अन्य व्यक्तिको संलग्नता तथा आर्थिक क्षतिको यकिन विवरण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चितवनले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
























