देश/प्रदेश
बसाइँसराइ रोक्ने छथर जोरपाटीको नयाँ उपाय : पहिले लैनो गाई, अब सुरक्षित आवास

धनकुटा, असोज १ –
विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आउने नयाँ परिवारलाई टिकाइ राख्न स्थानीय छथर जोरपाटी गाउँपालिकाले ‘सुरक्षित आवास’ कार्यक्रम अघि बढाएको छ ।
यसअघि उक्त पालिकाले बसाइँसराइ गरी आउनेलाई पाँच वर्षदेखि ‘दुहुना गाई’ वितरण कार्यक्रम सञ्चालन गर्दैआएकोमा त्यसलाई हटाएर ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरेको छ ।
नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उद्देश्यले दुहुना गाई अभियान सञ्चालन गर्दैआएकामा गाई दिएर मात्रै नयाँ परिवारलाई टिकाउन नसकिने निष्कर्षकासाथ गाउँपालिकाले अब आफ्नो रणनीति फेरेको हो ।
आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रम अन्तर्गत पाँच वर्षमा ५० बसाइँ आएका परिवारले लैनो गाई पाएका छन् । त्यस क्रममा पहिलो वर्ष नौ परिवारलाई गाई दिइएको थियो । त्यसपछि क्रमशः आर्थिक वर्ष २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा ४ र २०८१/८२ मा तीन परिवारलाई गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताउनुभयो ।
दूध उत्पादनबाट आम्दानी गर्न सक्ने भएकाले नयाँ ठाउँमा बसोबास गर्न आउने परिवारलाई आर्थिक रूपमा सहज हुने अपेक्षा गाउँपालिकाको रहेको प्रमुख राईले बताउनुभयो ।
कार्यक्रमको प्रभाव अपेक्षाअनुसार नदेखिएपछि गाउँपालिकाले बसाइँसराइ गरी आउने परिवारका लागि आम्दानीको स्रोतभन्दा पहिले स्थायी बसोबासको आधार आवश्यक रहेको निष्कर्षमा पुगेको छ ।
अब बसाइँसराइ आउने परिवारलाई घर निर्माणमा सहयोग गरिने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो । ‘दुहुना गाई’ कार्यक्रमको विकल्पका रुपमा सुरक्षित आवासलाई अघि सार्न लागिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले आउने बित्तिकै गाई वितरण गर्ने नभइ बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाउने गरिएको थियो ।
गाई लिन चाहने परिवारले गाउँपालिकामा निवेदनसँगै बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्था थियो ।
कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेर परिवारको वास्तविक अवस्था, बसोबास र आवश्यक अन्य पक्षको अध्ययन गथ्र्यो । अनुगमनमा योग्य ठहरिएका परिवारलाई मात्रै दुहुना गाई उपलब्ध गराउँथ्यो ।
आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसक्दा भने केही इच्छुक परिवार कार्यक्रमबाट वञ्चित समेत भएको पशुपन्छी विकास शाखाका प्रमुख राईले बताउनुभयो ।
छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका रहेको गाउँपालिकाले जनाएको छ । भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले तेह्रथुमबाट आउने परिवारको सङ्ख्या बढी रहेको हो ।
धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट परिवार जोरपाटीमा बसाइँसराइ गरी यहाँ आएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
गाउँमा नयाँ परिवार भित्र्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले बसाइँसराइ गरी आउने परिवारलाई स्थानीय तहको सेवा सुविधासँग जोड्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो ।
पाँच वर्षको अनुभवपछि पालिकाले बसाइँसराइ व्यवस्थापनको आफ्नो प्राथमिकता परिवर्तन गरेको हो । यसअघि गाउँमा आउने परिवारलाई ‘उत्पादनसँग जोड्ने’ नीति लिइएको थियो ।
अब भने ‘सुरक्षित बसोबासको आधार तयार गर्ने’ नीतितर्फ गाउँपालिका अघि बढ्ने अध्यक्ष सुब्बाले बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन रूपमा परिवारलाई गाउँमा टिकाउन आयआर्जनसँगै स्थायी र सुरक्षित आवासको आवश्यकता देखिएको छ ।
बसाइँसराइ सरी आउने परिवारका लागि घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई पालिकाले सहयोगमा प्राथमिकतामा राखेको अध्यक्ष सुब्बाले स्पष्ट पार्नुभयो । रासस
























