विचार/ब्लग
विपत्तिको पीडाले फिक्का बनाएको तीज

प्रमिला कार्की,
काठमाडौं, भदौ २७ –
नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीज नजिकिँदै गर्दा सामान्यत देशभर छुट्टै रौनक छाउँछ।
तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट गर्छन्, दर खान्छन्, नाच्छन् र वर्षभरिका सुखदुःख साटासाट गर्छन्।
तर यस वर्षको तीजको माहोल विगतका वर्षजस्तो छैन । गत भाद्र १० गते आएको रसुवा–भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि तीजको रमझम पनि पीडाको छायामा परेको छ।
कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपय परिवार विस्थापित भएका छन्। धेरैको घर, व्यवसाय र सम्पत्ति बाढीपहिरोले बगाएको छ। यस्तो अवस्थामा विगतजस्तो तामझामका साथ पर्व मनाउने उत्साह धेरैका लागि स्वाभाविक रूपमा कम भएको छ।
भक्तपुरकी प्रतिमा कार्की यसपटक तीजको तयारी विगतजस्तो उत्साहका साथ गर्न नसकेको बताउँछिन् । उनका अनुसार पर्व मनाउनेभन्दा पनि विपद्मा परेका परिवारको अवस्थाले बढी भावुक बनाएको छ ।
उनी भन्छिन्, ‘तीज आउँदा पहिल्यैदेखि सारी किन्ने, गहना लगाउने, दिदीबहिनी भेट्ने र दर खाने योजना हुन्थ्यो। तर यसपटक बाढीमा यति धेरै परिवारले दुःख पाएको देख्दा त्यही उत्साहले तीज मनाउन मन लागेन । आफ्नो खुसी मनाउँदा कतै कसैको पीडा बिर्सिएजस्तो हुन्छ कि भन्ने लाग्छ ।’
पहिले तीज आउन एक महिना बाँकी छँदै यसको रौनक सुरु भइसक्थ्यो । दिदीबहिनीहरू दर खाने कार्यक्रमको तयारीमा जुट्थे । टोल, समुदाय, संघसंस्था, कार्यालयदेखि राजनीतिक दलसम्मले तीज विशेष कार्यक्रम आयोजना गर्थे । रातो सारीमा सजिएका महिलाको बाक्लो उपस्थितिले कार्यक्रमस्थल नै रंगीन देखिन्थ्यो। गीत, संगीत र नाचगानले वातावरणलाई उत्सवमय बनाउँथ्यो।
तीज नजिकिँदै जाँदा बजारमा पनि छुट्टै चहलपहल हुन्थ्यो, कपडा तथा गरगहनाका पसलमा भीड बढ्थ्यो। सौन्दर्य सामग्री, मेहेन्दी र तीजका सामग्रीको व्यापार बढ्थ्यो । सामाजिक सञ्जालमा पनि नयाँ सारी, गहना, दर खाने कार्यक्रम र नाचगानका तस्बिर तथा भिडियो छाउन थाल्थे। कतिपय ठाउँमा तीज विशेष कार्यक्रमका लागि महिनौँअघिदेखि नै तयारी हुने गर्दथ्यो ।
यसपटक भने त्यो दृश्य धेरै हदसम्म फेरिएको छ । बाढीपहिरोबाट प्रभावित परिवारको पीडा सम्झिँदा उत्सव मनाउन मन नलागेको धेरैको भनाइ छ । कतिपय स्थानमा आयोजना हुने तयारीमा रहेका दर खाने कार्यक्रम स्थगित भएका छन्।
केही कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको छ । तीजका लागि छुट्याइएको खर्चसमेत विपद्मा परेकाहरूको राहत र सहयोगमा लगाउने सोच धेरैमा देखिएको छ ।
भक्तपुर सिपाडोलकी लक्ष्मी पाण्डे पनि यस वर्ष तीजलाई फरक ढंगले मनाउनुपर्ने बताउँछिन् । उनका अनुसार अहिले ठूलो जमघट र खर्चभन्दा विपद्मा परेका परिवारलाई सहयोग गर्नु महत्वपूर्ण छ ।
उनी भन्छिन्, ‘तीज मनाउनु संस्कृति हो, त्यसलाई रोक्नुपर्छ भन्ने होइन । तर अहिलेको परिस्थितिमा धेरै खर्च गरेर ठूलो कार्यक्रम गर्नुभन्दा त्यही रकम बाढीपीडितका लागि सहयोग गर्न सकियो भने त्यो अझ अर्थपूर्ण हुन्छ । यसपटक तीजमा नयाँ लुगा र गहनाभन्दा कसैको घरमा चुलो बाल्न सहयोग गर्न सकियोस् भन्ने चाहना छ ।’
विशेषगरी आफन्त गुमाएका परिवारको पीडा र विस्थापितहरूको अवस्था सम्झिँदा तीजको खुसीमा रमाउने अवस्था छैन । कतिपय घरमा तीजको तयारीभन्दा बाढीले बिछोडिएका आफन्तको खोजी र अवस्थाबारे चिन्ता बढी छ । कतै घरबार गुमाएकाहरू खुला आकाशमुनि छन् भने कतै आफ्ना प्रियजनको पर्खाइमा परिवारका सदस्यहरू दिन काटिरहेका छन्।
यही कारण यस वर्ष धेरै महिला समूह र सामाजिक संस्थाले तीजलाई फरक ढंगले मनाउने तयारी गरेका छन्। कतिपयले दर खाने कार्यक्रम नगरी राहत संकलन गर्ने, प्रभावित परिवारलाई खाद्यान्न तथा कपडा सहयोग गर्ने र पुनस्र्थापनामा सहयोग गर्ने निर्णय गरेका छन्। उत्सवमा खर्च हुने रकम पीडितका लागि प्रयोग गर्ने प्रयास पनि भइरहेका छन्।
सामाजिक सञ्जालमा पनि यसको प्रभाव देखिएको छ । विगतमा तीज आउनुअघि नै नाचगान, दर खाने कार्यक्रम, नयाँ सारी र गहनाका तस्बिर तथा भिडियोको बाढी आउँथ्यो। यस वर्ष भने त्यस्ता सामग्रीसँगै बाढीपहिरो प्रभावितका लागि सहयोगको अपिल, राहत वितरण र प्रभावित क्षेत्रका तस्बिर तथा भिडियोले बढी स्थान पाएका छन्।
यसको अर्थ तीजको खुसी हराएको भने होइन । बरु यस वर्ष तीज मनाउने तरिका केही फरक भएको हो। विगतमा ठूलो जमघट र भव्य कार्यक्रममार्फत व्यक्त हुने खुसी यसपटक सानो भेटघाट, पारिवारिक प्रार्थना र सहयोगको भावनामा सीमित हुन सक्छ। नाचगानका कार्यक्रम कम हुन सक्छन्, दरका परिकार घट्न सक्छन्, तर दुःखमा परेका मानिसलाई सहयोग गर्ने हातहरू बढ्न सक्छन्।
तीजको अर्थ केवल नयाँ कपडा लगाउनु, दर खानु वा नाचगान गर्नुमा मात्र सीमित छैन। यो दिदीबहिनीबीचको आत्मीयता, माइतीसँगको सम्बन्ध, सुखदुःख बाँड्ने अवसर र आपसी सद्भावको पर्व पनि हो। त्यसैले संकटमा परेका मानिसको दुःख बुझ्नु, उनीहरूलाई साथ दिनु र सक्दो सहयोग गर्नु पनि तीजको मानवीय पक्ष हुन सक्छ।
यस वर्ष बाढीपहिरोले धेरै परिवारको चुलो निभाएको छ। कतिपय घरमा तीजका गीतभन्दा आफन्त गुमाएको पीडाको सन्नाटा छ। कतिपय आमाबुबा आफ्ना सन्तानको पर्खाइमा छन् भने कतिपय सन्तान आफ्ना अभिभावकको खोजीमा छन्। यस्तो अवस्थामा तीजको रमझम फिक्का देखिनु स्वाभाविक भएको बताइन्छ ।
तर यही पीडाबीच तीजले समाजलाई अझ नजिक ल्याउने अवसर पनि दिन सक्छ। उत्सवमा हुने खर्च कटौती गरेर पीडितलाई सहयोग गर्ने, एक्लिएका परिवारसँग भेट्ने, उनीहरूको दुःखमा साथ दिने र विपद्पछिको पुनस्र्थापनामा हातेमालो गर्ने हो भने यस वर्षको तीजको अर्थ अझ गहिरो बन्न सक्छ।
विगतका वर्षमा तीजको पहिचान ठूलो जमघट, दर खाने कार्यक्रम र नाचगानसँग जोडिएको थियो। यस वर्ष भने तीजले संवेदनशीलता, सहानुभूति र सामाजिक जिम्मेवारीको अर्को पहिचान बनाउन सक्छ।
सायद यसपाली धेरै ठाउँमा विगतजस्तो ठूलो आवाजमा तीजका गीत घन्किने छैनन् । दर खाने कार्यक्रम कम हुनेछन्, नयाँ कपडा र गहनाको चमक पनि केही कम देखिन सक्छ । तर विपद्मा परेकाहरूका लागि उठेको सहयोगको हात, पीडित परिवारप्रतिको सहानुभूति र एकअर्काको दुःखमा उभिने भावना नै यस वर्षको तीजको सबैभन्दा ठूलो उत्सव बन्न सक्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यका अनुसार विगतमा यस्ता चाडपर्वका बेला नयाँ गहना किन्ने चलन बलियो भए पनि अहिले करिब ७० प्रतिशत उपभोक्ता नयाँ सुन किन्ने भन्दापनि पुरानो सुन बेच्नतर्फ लागेका बताउँछन् ।
‘तीजदेखि दशैं–तिहारसम्म गहना, मेकअप र सौन्दर्य सामग्रीको बिक्री हुने मुख्य समय हो । तर अहिले नेपालीहरूको क्रयशक्ति कमजोर भएकाले धेरैले पुरानो सुन बेचेर खर्च चलाउने सोच बनाएका छन । हालको विपत्तिले पनि बजार चलायमान हुन सकेको छैन,’ उनले भने ।
बाढीपहिरोको पीडाबीच आएको यस वर्षको तीजले एउटा महत्वपूर्ण सन्देश दिएको छ—पर्वको खुसी त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब आफ्नो खुसीमा अरूको दुःख पनि सम्झिन सकिन्छ। यस वर्ष तीजको रमझम केही फिक्का भए पनि मानवीय संवेदना र सहयोगको उज्यालो अझ बलियो बन्न सके, यही नै यो पर्वको सबैभन्दा सुन्दर अर्थ हुनेछ। न्यूज बैंक
























