देश/प्रदेश
चाबहिलका शैक्षिक परामर्श व्यवसायीहरु एकजुट, शैक्षिक व्यवसायी संघ गठन

काठमाडौँ, भदौ २३–
काठमाडौँको चाबहिल क्षेत्रमा रहेका शैक्षिक परामर्श व्यवसायीहरू एकजुट भएका छन् । उनीहरुले चाबहिल क्षेत्रका सबै शैक्षिक परामर्श व्यवसायीलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले ‘चाबहिल शैक्षिक व्यवसायी संघ’ स्थापना गरेका छन् ।
संघको संस्थापक अध्यक्षमा सुदीप राज पुरी, प्रथम उपाध्यक्षमा ईश्वर काफ्ले, महासचिवमा प्रेम तामाङ र कोषाध्यक्षमा विज्ञान दाहाल चयन भएका छन्। अन्य सदस्यसहित संस्थापक कार्यसमिति गठन गरिएको छ।
एक वर्षदेखि चाबहिल क्षेत्रका शैक्षिक व्यवसायीहरूबीच सहकार्य, आपसी सम्बन्ध र साझा हितका विषयमा छलफल तथा समन्वय हुँदै आएकोमा उक्त प्रयासले औपचारिक र संस्थागत रूप लिएको संस्थापक प्रथम उपाध्यक्ष इश्वर काफ्लेले बताए ।
चाबहिल क्षेत्रमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थादेखि ट्युसन सेन्टरलगायत शिक्षा तथा शैक्षिक सेवासँग सम्बन्धित विभिन्न संस्थाहरूलाई एउटै छातामुनि जोड्ने संघको उद्देश्य रहेको जनाइएको छ।
संघले आपसी सहकार्य, व्यावसायिक एकता, संस्थाहरूको साझा हित, व्यावसायिक मर्यादा र आपसी विश्वासलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।
























