देश/प्रदेश

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

Banner

नेपालगञ्ज (बाँके), भदौ २२-

खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ ।

खेर गइरहेको बाँझो जमिनलाई वडाको मुख्य आम्दानीको स्रोत बनाएकाले उदाहरणीय काम गरेको हो । बाँकेको खजुरा गाउँपालिका–२ ले दुई बिघा सार्वजनिक जग्गामा अम्बा, आँप, लिची, कटहर, सुनकागती र ज्यामिरका बिरुवा रोपेर व्यावसायिक फलफूलखेती सुरु गरेको छ । ताजा तथा अर्गानिक फल स्थानीय लाई बिक्री गर्ने र वडाको आम्दानी बढाउने उद्देश्यले फलफूलखेती सुरु गरिएको गाँउपालिकाले जनाएको छ । वडाध्यक्ष धनराम ओलीले स्थानीयलाई कृषिप्रति आकर्षित गर्ने र जमिन बाँझो राख्न हुन्न भन्ने उदाहरण जनतालाई सिकाउने र देखाउने हाम्रो मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले वडा कार्यालयको नाममा रहेको सार्वजनिक जग्गालाई ठेक्कामा दिने पुरानो अभ्यासको अन्त्य गरी वडा कार्यालयले उक्त खेती सुरु गरेको बताउनुभयो । साविक सीतापुर गाविसको नाममा रहेको एक बिघा सात कठ्ठा जग्गा यसअघि वार्षिक १० हजार रुपैयाँमा ठेक्कामा दिने प्रचलन थियो । कतिपय वर्ष ठेक्का नलाग्दा जग्गा बाँझै रहने अवस्थाको भने हाल अन्त्य भएको छ । उहाँले जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासमा सार्वजनिक सम्पत्तिलाई उत्पादनसँग जोड्ने अवधारणाअनुसार बागवानी खेती सुरु गरिएको बताउनुभयो ।

सार्वजनिक जग्गालाई उत्पादनसँग जोड्ने अभ्यास खजुरा गाँउपालिकाले सुरु गरेको भएको छ । उक्त अभियान खजुरा वडा नम्बर २ मा मात्र सीमित नरही देशभरका वडाले अनुसरण गर्न सके सार्वजनिक सम्पत्तिको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । कृषि अभियान्ता कृष्ण पौडेलले जानकारी दिनुभयो ।

नेपालमा युवा जनशक्ति रोजगारीका लागि विदेशपलायन भइरहेका बेला गाउँमा रहेका ज्येष्ठ नागरिकले खेती गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै बागवानी खेतीलाई वडाले प्राथमिकता दिइएकामा स्थानीयवासी खुसी छन् । अन्नबालीभन्दा बागवानी खेतीमा धेरै श्रम आवश्यक पर्दैन । आम्दानी पनि राम्रो हुन्छ । फलपूmलखेती गर्नाले भिरालो जमिनको माटो समेत कसिले बन्छ । र पहिरो जाने सम्भावना कम रहन्छ ।

एक पटक बिरुवा रोपेपछि नियमित सिँचाइ, रोग नियन्त्रण र वर्षमा दुई पटक मल व्यवस्थापन गरे पुग्छ । त्यसैले कम श्रममा पनि राम्रो उत्पादन लिन सकिन्छ । हाल वडाले दुई बिघा क्षेत्रफलमा थाइवान पिङ्ग प्रजातिका ७५ वटा अम्बा, दुई सय वटा आँप, २१ वटा कटहर, १७ वटा सुनकागती, ज्यामिर तथा एक सय वटा लिचीका बिरुवा समेत बाँझो जमिनमा लगाइएको छ ।

हाल रोपिएका बिरुवाको उमेर करिब २३ महिना पुगेको छ । बागवानी विज्ञ र कृषि प्राविधिकको सल्लाहअनुसार सुरुआती पाँच पटकसम्म बिरुवामा लागेको फूल र फल टिपेर हटाइएको थियो । कम उमेरमै फल राख्दा बिरुवाको वृद्धि कमजोर हुने भएकाले त्यसो गरिएको उहाँले बताउनुभयो ।

वडाले उत्पादन हुने फलको बजारीकरणका लागि तयारी थालेको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा स्थानीय उपभोक्तालाई राजस्व रसिद काटेर फल बिक्री गर्ने योजना रहेको छ । बजारमा बिक्री योग्य भएपछि त्यसबेलाको बजार मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरिने लक्ष्य छ । बाहिरबाट आउने उपभोक्ताले वडाबाटै फल खरिद गर्न सक्ने व्यवस्था गरिने भएको छ । वडा कार्यालयले यसअघि उत्पादनमूलक कृषि अभ्यास गर्दै टनेलमार्फत च्याउ उत्पादन गर्दै आएको थियो ।

पछिल्ला दुई वर्षदेखि प्रतिकिलो १२० रुपैयाँमा च्याउ बिक्री गर्दै राजस्व सङ्कलन भइरहेको छ । त्यही अनुभवका आधारमा फलफूल खेतीलाई समेत राजस्वसँग जोड्ने योजना बनाइएको वडा अध्यक्ष ओलीले बताउनुभयो । उहाँले सार्वजनिक स्थलमा रहेका सरकारी जग्गालाई उत्पादनसँग जोड्न सके आयातमा निर्भरता घट्ने, स्थानीयस्तरमै स्वच्छ तथा अर्गानिक उत्पादन उपलब्ध हुने र विदेशिने पुँजीलाई समेत रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बाँझो जग्गा राख्ने प्रवृत्ति अन्त्य गरी नागरिकलाई फलफूल, बागवानी, मत्स्य तथा अन्य कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइने लक्ष्य वडाले लिएको छ । हाल वडा कार्यालय परिसरमा करिब दुई बिघा क्षेत्रफल बागवानी खेतीका लागि प्रयोग भइरहेको छ भने बाँकी करिब सात कठ्ठा क्षेत्रमा वडा कार्यालयका भौतिक संरचना रहेका छन् । सार्वजनिक सम्पत्तिलाई उत्पादनमूलक उपयोगसँग जोड्ने यो अभ्यास स्थानीय तहमा वैकल्पिक राजस्व स्रोत विकास गर्ने उदाहरणका रूपमा समेत हेरिएको छ ।

खजुरा गाउँपालिकाको १०१.७९ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ५ हजार ४ सय ४७ हेक्टर जमिनमा खेती भइरहेको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार ८ हजार ८ सय ९८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ हजार ४५३ हेक्टर पाखोबारी रहेको छ । ४४५ हेक्टर जमिन बाँझो छ । झन्डै चार हेक्टर जमिन खेती योग्य भए पनि खेती गरिएको छैन ।

खेती नगरिएको जमिनमध्ये केही व्यक्तिको स्वामित्वमा छन् भने नदी–नाला तथा खोला किनार, विद्यालयका खाली जग्गा र सिँचाइका लागि उपयुक्त नभएका क्षेत्रसमेत रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको तथ्याङ्कअनुसार खेतीयोग्य तर खेती नगरिएको जमिनमध्ये वडा नं। २ को सरकारी जग्गामा ४०० हेक्टर बाँझो जमिनमा ताइवानी बेलौती खेती गरिएको छ ।

यसैगरी, वडा नं। ३ स्थित आदर्श माध्यमिक विद्यालयको बाँझो जमिनमा फलफूलखेती गरी राजस्व संकलन गर्न थालिएको छ ।

गाउँपालिकाका कृषि प्रसार अधिकृत युवराज ढकालका अनुसार चालु आर्थिक वर्षदेखि बाँझो जग्गाको व्यवस्थित उपयोगका लागि योजनाबद्ध रूपमा अभिलेख राख्ने काम अघि बढाइनेछ ।

बाँझो तथा खेतीयोग्य जमिनको पहिचान गरी सम्भाव्यता हेरेर कृषि उत्पादनमा प्रयोग गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

स्थानीयस्तरमै उपलब्ध जमिनलाई उत्पादनसँग जोड्न सके कृषि क्षेत्रको विकाससँगै स्थानीयको आयआर्जन र गाउँपालिकाको राजस्वसमेत बढाउन सकिने अपेक्षा गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>