देश/प्रदेश
कुस्ती, सङ्घर्ष र लोकआस्थाः दिनाभद्रीको गाथा सङ्कटमा

जनकपुरधाम, भदौ २२ –
मिथिला क्षेत्रका शोषित र उत्पीडित समुदायका लोकनायक मानिने दिनाभद्रीको लोकगाथा संरक्षण अभावमा विस्तारै हराउँदै गएको छ । विशेषगरी, मुसहर समुदायमा पुस्तौँदेखि गाइँदै आएको यो गाथा अहिले नयाँ पुस्तासम्म पुग्न नसक्ने खतरा बढेको भन्दै स्थानीय बुद्धिजीवी र इतिहासविद्ले चिन्ता व्यक्त गरेका छन् ।
लोककथाअनुसार सप्तरीको जोगिया जाँजर गाउँमा जन्मिएका दिना र भद्री दाजुभाइ अत्यन्त बलवान, साहसी र न्यायप्रिय थिए । उहाँहरु कुस्ती खेलमा निपुण थिए र सामन्ती शोषणविरुद्ध खुलेर उभिने गर्थे । मजदुरलाई स्वतन्त्र रूपमा काम गर्न प्रेरित गर्नु, अन्याय गर्ने जमिन्दारको विरोध गर्नु र शोषितको पक्षमा उभिनु उहाँहरूको मुख्य विशेषता मानिन्छ ।
दिनाभद्रीसँग सम्बन्धित सबैभन्दा रोचक पक्ष भनेको उहाँहरूको लोकदेवताका रूपमा हुने पूजा हो । मधेसका धेरै गाउँमा देवीदेवताका पूजामा दिनाभद्रीको नाम अनिवार्य रूपमा स्मरण गरिन्छ । उहाँहरूले कुस्ती खेलेको भनिने अखडा, मारिएको भनिने कटैया क्षेत्र र त्यहाँ बनेको मन्दिर आज पनि स्थानीय आस्थाको केन्द्र बनेका छन् ।
इतिहासविद् डा पिताम्बरलाल यादवका अनुसार दिनाभद्रीको मृत्युबारे फरक–फरक कथन पाइन्छ । एक कथामा उहाँहरूलाई जादुटुनाको सहायताले जङ्गलमा मारिएको उल्लेख छ भने अर्को कथामा शिकार खेल्ने क्रममा भएको रहस्यमय घटनामा उहाँहरूको मृत्यु भएको भनिन्छ । यी कथाहरू आज पनि मुसहर समुदायले गीतमार्फत गाउने गर्छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले केही वर्षअघि दिनाभद्रीसम्बन्धी लोकगाथाको छायाङ्कन गरी पुस्तकसमेत प्रकाशन गरेको थियो । त्यसपछि संरक्षण, अनुसन्धान र प्रचारप्रसारको काम प्रभावकारी रूपमा अघि नबढेको साहित्यकार तथा पत्रकार श्यामसुन्दर यादवको गुनासो छ । उहाँका अनुसार दिनाभद्रीको गाथा केबल मनोरञ्जनात्मक लोककथा होइन, यो सामाजिक न्याय, श्रमको सम्मान र उत्पीडनविरुद्धको सङ्घर्षको प्रतीक हो । त्यसैले यसलाई राष्ट्रिय स्तरमा संरक्षण गरी सांस्कृतिक पर्यटन र अध्ययन अनुसन्धानसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।
यदि समयमै संरक्षण गर्न सकिएन भने मिथिलाको इतिहास, लोकसंस्कृति र दलित समुदायको सङ्घर्षलाई जीवित राख्ने यो अद्वितीय लोकगाथा सधैँका लागि हराउन सक्ने चिन्ता बढ्दै गएको उहाँ बताउनुहुन्छ । मिथिला क्षेत्रमा दिनाभद्री ९मुसहर० दाजुभाइको लोकगाथा जनजनमा अति चर्चित रहेपनि आवश्यक संरक्षणको आभावमा इतिहास मर्न लागेको मुसहर समुदायका अगुवा गङ्गा सदाको गुनासो छ ।
शोषक सामन्तविरुद्ध कठोर सङ्घर्ष गरेका मुसहर समुदायका दाजुभाइ दिनाभद्रीको लोकगाथा गायन लोप हुन थालेको भन्दै यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उहाँको कथन छ । दिनाभद्रीको जन्म, मृत्यु संस्कार एवं विभिन्न घटनाहरुसँग सम्बन्धित स्थलहरुको विषयमा आवश्यक अध्ययन अनुसन्धान एवं अभिलेखीकरण हुन नसक्दा पहिचान नै लोप हुने अवस्थामा पुगेको दलित समुदायको अगुवा प्रथमलाल राम बताउनुहुन्छ ।
सप्तरी जिल्लाको जोगिया जाँजर गाउँका कालु सदा र आमा नीरसोको कोखबाट जन्मिएका दुई दाजुभाइ दिना र भद्री अन्याय, अत्याचार, शोषण दमनविरुद्ध सङ्घर्ष गरेकै कारण मिथिला क्षेत्रका हरेक समुदायका बीच लोकदेवताको रुपमा पूजित छन् । पूर्र्वी क्षेत्रका सप्तरी, सिरहा, सुनसरी, मोरङग, झापासहितका जिल्लाको विभिन्न गाउँहरुमा मुसहर जातिको बसोबास रहेको छ ।
शिकार रहँदै आएका दिनाभद्रीसँग सम्बन्धितस्थलहरुको केही वर्षअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान काठमाडाँैले छायाङ्कन गरेर केही पाठ्य सामग्रीहरु प्रकाशन गरेको प्रतिष्ठानका पूर्वसदस्य डा सुर्य यादवको भनाइ छ । दिनाभद्री जन्मस्थान सप्तरीको बोदे बसाइन नगरपालिकाको जोगियाँ जाँजरमा उहाँहरु कुस्ती भिडेको स्थान अझै रहेको छन् भन्ने उहाँहरु मारिएको स्थान कटैयाँमा दिनाभद्रीको मन् िदर बनाएर पूजाआजा गर्दै आएको छ ।
दिनाभद्रीसँग सम्बन्धित लोकगाथा (महराइ)को छायाङ्कन भइसकेको छ, प्रतिष्ठानका सदस्य यादव भन्नुहुन्छ, “दिनाभद्रीको लोकगाथा गायक सातैन रामको गायनको पनि छायाङ्कन सम्पन्न भइसकेको छ, त्यही आधारमा पुस्तक पनि प्रकाशन गरेका छौँ ।” प्रकाशन भएको पाठ्य सामग्री लुम्बिनी संस्कृति विश्वविद्यालयमा अध्ययन अध्यापनसमेत भइरहेको उहाँको भनाइ छ ।
प्रतिष्ठानले मिथिला लोक विभूति दिनाभद्री गाथाको सन्दर्भमा मिथिला क्षेत्रका विद्धानहरुको बीचमा अन्तरक्रियासमेत चलाएको थियो । ‘‘तर पछिल्लो केही समययता न त दिनाभद्रीको गाथाको बारेमा चर्चा हुन् नसकेको छ न त राज्यको तर्फबाट संरक्षणको कुनै पहल नै हुन सकेको छ”, प्रतिष्ठानका सदस्य डा यादव भन्नुहुन्छ ‘‘ जसका कारण दिनाभद्री लोकगाथा लोप हुनसक्ने सम्भावना छ ।” भावी पुस्तामा दिनाभद्री लोकगाथा बारे अनभिज्ञ हुन सक्ने उहाँको चिन्ता छ ।
बाल्यकालदेखि नै दुवै दाजुभाइ वीर एवं साहसी थिए । कुश्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रुपमा प्रस्तुत भएका कारण उहाँहरुको वीरताको चर्चा त्यतिबेला जनजनमा चलेको इतिहासविद् डा यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “लोकगाथामा उल्लेख भएअनुसार दाजु दिना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे, दुवै दाजुभाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए ।” गिरहत ९मालिक०को ‘जी हजुरी’ नगरी स्वतन्त्र रुपमा मजदुरी गर्नका लागि मुसहर समुदायलाई प्रेरित गर्ने कामसमेत गर्ने गरेको पाइएको उहाँको भनाइ छ ।
मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिनेविरुद्ध जाइलाग्ने गरेका कारण उत्पीडित समुदायहरु जगरुक हुँदै अन्याय, अत्याचारको विरुद्ध जुटेको इतिहासविद् डा यादवको कथन छ । दिना र भद्रीको विवाह सप्तरीको बरहा गाउँका फुकन सदाकी छोरीहरु हंसा र संझासँग भएको थियो । दाजुभाइ मारिएको ठाउँलाई मरौटी, मारिएपछि उठाएर राखिएको ठाउँलाई रखौटी र हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको ठाउँलाई जरौटी भन्ने गरिन्छ । कहीँकतै अन्याय अत्याचार भएपछि अहिले पनि दिनाभद्री दाजुभाइलाई सम्झिने गरिन्छ ।
दिनाभद्री जन्मको विषयमा कतै ठोस किटान भएको पाइँदैन । यद्यपि उहाँहरु राजा सलहेशका समकालीन हुन् भन्ने अनुमान गरिन्छ । विभिन्न ऐतिहासिक तथ्य एवं लोकगाथामा उल्लेख भएका विषयवस्तु, घटना, परिवेश तथा उल्लेखित गतिविधिका आधारमा दुवै दाजुभाइ मध्यकालीन भएको सहज रुपमा अनुमान गर्न सकिन्छ ।
शोषण, दमन, अन्याय अत्याचारविरुद्ध चालेका साहसिक कदम तथा क्रियालापहरुका कारण आज पनि दिनाभद्री मधेसमा देवताको रुपमा पूजित छन् । सप्तरी सिरहालगायतका मधेसका जिल्लाहरुमा देवीदेवताको पूजा गर्ने बेलामा दिनाभद्रीको पूजा अनिवार्य हुने गरेको दलित अगुवा बद्री सदाको कथन छ ।
दिनाभद्रीको मृत्युको विषयमा दुई मत रहेको पाइन्छ । पहिलो मतअनुसार बुधनी धमियाइनले उहाँहरुलाई जादुटुना गरी सप्तरीको कटैया जङ्गलमा मार्न लगाइन् । त्यसपछि दिनाभद्रीका आमा निरसोले बघेश्वरी भगवतीलाई पूजा गरी खुशी पारेर धमियाइनलाई पनि मार्न लगाइएको छ ।
मुसहर समुदायहरु अहिले पनि गीत गाउँदा उक्त घटना सम्झिने गरेको सदाको भनाइ छ । दिनाभद्री आफ्नो मामा बहोरनलाई साथमा लिएर शिकार खेल्नका लागि कटैया जङ्गलतिर गएको र वनभित्र पुगेपछि एउटा पोटरा ९खास प्रकारको बँदेल० अगाडि आएको देखेपछि भद्रीले धनुवाण चलाई त्यसलाई त्यही मारी दिए तर राजासलहेसले पुनर्जीवन दिएको र त्यही जीवित बंँदेलले दिनाभद्रीलाई घाइते पारी मारी दियो अर्को मत रहेको छ ।
जोगिया जाँजरदेखि पूर्वतिरको गाउँ नेंंगरा बैरियाका जीवन सदाले दुवै मृतकको क्रियाकर्म गरेको लोकगाथामा उल्लेख छ । त्यस्तै जोगियामा दिनाभद्रीको मन्दिरसमेत निर्माण गरिएको छ । जहाँ प्रत्येक वर्ष ठूलो मेलासमेत लाग्दै आएको बोदे बर्सान नगरपालिका–२ का वडाध्यक्ष रामप्रसाद राम बताउनुहुन्छ । ‘‘दिनाभद्रीले कुस्ती खेल्ने स्थानलाई संरक्षित गरेर त्यहाँ मन्दिर र धर्मशाला निर्माण गरिएको छ”, वडाध्यक्ष राम भन्नुहुन्छ, “स्थानीय सरकारबाट पनि सहयोग गरिरहेका छौँ ।” दिनाभद्री हाम्रो धरोहर र इतिहास भएकाले संरक्षणका लागि तीनै तहको सरकारबाट सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
शोषण दमन र अत्याचारविरुद्ध कठोर सङ्घर्ष गरेका दिनाभद्री स्थलको संरक्षण सम्वद्र्धन गरिए अध्ययन अनुसन्धानको थलो बन्न सक्ने निश्चित छ । तर सरकारी पक्षको हालसम्म ध्यानाकर्षण हुन नसकेको स्थानीयहरुको गुनासो छ ।
दिनाभद्रीको कठोर सङ्घर्षको सम्मान गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुका साथै हुलाक टिकट प्रकाशनमा ल्याउनुपर्ने माग स्थानीय बुद्धिजीवीहरुको रहेको छ । साथै, दिनाभद्री क्षेत्रको संरक्षण सम्वद्र्धन गरी पर्यटकीय तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु आवश्यक रहेको उहाँहरुको भनाइ छ । रासस
























