Breaking News
नारायणीमा बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर महानगरपालिका

नारायणगढ (चितवन), भदौ १९-
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएको छ । बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।
महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुर पनि भेटिएका छन् । नदी किनारका बस्तीमा दुर्गन्ध फैलिन थालेकाले व्यवस्थापन गर्न आवश्यक देखेपछि काम थालेका हौँ ।”
प्रहरी नायब उपरीक्षक ढकालका अनुसार भरतपुर महानगरपालिका(१ देवघाट ९ठिमुरा० बाट गोलाघाटसम्म बस्ती नजिक भेटिएका मृत पशुलाई बस्तीभन्दा केही टाढा लगेर व्यवस्थापन गरिँदैछ । बस्ती नभएको स्थानमा भेटिएका मृत पशुलाई भने पशु प्राविधिकको समन्वयमा सोही स्थानमा गाड्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
हाल दैनिक पाँचदेखि सात वटासम्म मृत पशुको व्यवस्थापन भइरहेको छ । मृत पशुको व्यवस्थापनका लागि महानगर प्रहरीसँगै महानगरपालिकाका भेटेरिनरी प्राविधिकसमेत खटिएका छन् । भदौ १० गतेदेखि महानगर प्रहरीको टोली बाढीमा बेपत्ता भएका मानिसको शव खोजी तथा व्यवस्थापनमा पनि खटिएको छ । अहिले मानिससँगै बगेका मृत पशुचौपायाको व्यवस्थापनमा टोली निरन्तर लागि रहेको प्रमुख ढकालले बताउनुभयो । रासस

























