देश/प्रदेश
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
०

मधु शाही,
काठमाडौँ, भदौ १९
अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ । कोही आफन्तको तस्बिर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन् । कसैको आखाँमा आशा छ भने कसैको मुहारमा थकान । तर, सबैको साझा खोज छ, बेपत्ता भएका आफन्तको खबर पाउने ।
माथिको शब्द दृश्य महाराजगन्जस्थित टिचिङ अस्पतालको हो । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरुका आफन्तजन खोजी गर्दै अस्पतालको परिसरमा दौडधुप गरिरहेका छन् । त्यही खोजीको भीडमा हुनुहुन्थ्यो, रामेछापका रामहरि मानन्धर । बुधबार अस्पतालमा बाढीमा बेपत्ता हुनुभएका दिदी पार्वती मानन्धरको तस्बिर बोकेर उहाँ अस्पताल परिसरमा यताउता गरिरहनुभएको थियो ।
बाढीपछि रसुवागढीस्थित अध्यागमन कार्यालयमा कार्यरत खरिदार पार्वतीले सम्पर्कविहीन हुनुभएको उहाँले जानकारी दिनुभयो । रामहरि र आमा चन्द्रकुमारी शिक्षण अस्पतालमा हरेक दिन धाउनुहुन्छ । दिदीको फोटो देखाउँदै अस्पतालमा रहेको सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सोधिरहनुहुन्छ, “मेरो दिदी भेटिनुभयो कि रु”
रामहरिका लागि पार्वती दिदीसँगै घर खर्च धान्ने दरिलो खम्बा हो । “पहिला पढाइ पूरा गर्नु अनि जागीर खोज्नु”, भन्दै दिदीले शिक्षामा दिनुभएको प्राथमिकता रामहरि अहिले झलझली सम्झिनुहुन्छ । रामहरिका अनुसार घरको आर्थिक स्थिति कमजोर भएका कारण कान्छो भाइ एइई सकेर क्याम्पस भर्ना गर्न बाँकी थियो । यसै महिना कान्छो भाइको पनि क्याम्पस भर्ना गर्ने भन्दै दिदी पार्वतीले बताउनुभएको थियो । तर, अहिले भने बेपत्ता दिदी कहाँ र कस्तो अवस्थामा छन रु बेखर रहेको रामहरिले बताउनुभयो ।
पार्वतीकी आमा चन्द्रकुमारीलाई छोरी भेटिने आशा छ । सानैदेखि सङ्घर्ष गरेर सरकारी जागीरे खाएकी २२ वर्षे पार्वतीको आँटिलो स्वभावले जसरी पनि भेटिने आमा चन्द्रकुमारीको अन्तर मनको भरोसा छ । उहाँका अनुसार जस्तोसुकै अवस्थामा भए पनि छोरी भेटिन्छे भन्ने लागेको छ । छोराछोरी हुर्काउन र पढाउन चन्द्रकलाले निकै सङ्घर्ष गरेको बताउनुहुन्छ । छोरी पार्वतीलाई मात्रै पढाउन उहाँले श्रीमान्सँग धेरै पटक विवाद गर्नु परेको सुनाउनुभयो । “श्रीमान्ले छोरी नपढाए हुन्छ भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “इँटाभट्टामा मजदुरी गरेर भए पनि छोरी पढाए, हुर्काए । अहिले कहाँ खोज्न जाउँ ।”
पार्वतीले गत वैशाखमा खरिदारमा नाम निकालेपछि चन्द्रकुमारीका आँखामा हेर्दै ‘अब हाम्रा सुखका दिन आए आमा’ भन्दै खुसी क्षण साटेको सम्झिनुहुन्छ । छोरी पार्वतीले भनेजस्तै चन्द्रकुमारीको जीवन दुःखबाट सुखतिर मोडिदै थियो । उहाँको यो खुसी भदौ १० गतेदेखि धमिलिएको छ । उहाँ भन्नुहुन्छ, “छोरी हराएसँगै घरको आड भरोसा नै हरायो ।”
रसुवाका ५८ वर्षे फुर्पु तामाङले छोरा बुहारी, दुई नातिनी र एक नाति गरी परिवारका पाँच सदस्य बेपत्तामा छन् । पहाडमा भएको पुर्खाको घर छोडेर तल्लो भाग स्याफ्रुबेंसीमा बस्दै आउनुभएको थियो । फुर्पु र उहाँको श्रीमती रसुवाको माथिल्लो पहाडी भेगमा बस्नुहुन्छ । बाढी आइरहँदा फुर्पुले कालोमुस्लोसहित भेल आएको देख्नुभयो । उर्लिदै आएको मुस्लो देखेर छोरा, बुहारीलाई फोन सम्पर्क गर्न खोज्नुभयो । तर, फोन सम्पर्क हुन सकेन । फुर्पु भन्नुहुन्छ, “एक जना मात्रै भेटिए पनि हुन्थ्यो । मेरो त बुढेसकालको साहारा नै हरायो ।”
गाउँ नै बगाएकाले छोरा, बुहारीको खबर सोध्ने छिमेकी कोही छैनन् । उहाँले कसलाई कहाँ गएर खोज्ने भन्ने अन्योलमा रहेको बताउनुभयो । खोज्ने थलो अस्पतालबाहेक अरु कतै नदेखेपछि उहाँ हरेक दिन अस्पताल आउने गरेको सुनाउनुभयो । श्रीमतीलाई छोरा आउँछ भन्दै आश्वासन दिइरहेको उहाँले सुनाउनुभयो । मुटुको रोगी श्रीमतीको स्वास्थ्य बिग्रिने हुँदा झुटो बोल्न उहाँ बाध्य हुनुहुन्छ । “निर्धक्क रुन पनि सक्दिन । म नै कमजोर भए भने श्रीमतीलाई कसले समाल्छ रु”, उहाँले भन्नुभयो, “मन भारी बनाएर हराएको छोरो खोजिरहेको छु ।”
भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुका आफन्तजन खोज्दै अस्पताल आउने सङ्ख्या बढ्दै गएको छ । हराएका परिवारको सदस्य र आफन्त खोज्दै विदेशमा रहेका आफन्तसमेत नेपाल आउनुभएको छ ।
सिन्धुपाल्चोक हेलम्बु–४ का बक्सिङ तामाङले भोटेकोशी नदीमा आएको बाढीमा सम्पर्कविहीन भएका भाई सुनबहादुर तामाङलाई खोज्दै नेपाल आउनुभयो । उहाँका अनुसार बाढी आएको चार दिनसम्म जापानमै सामाजिक सञ्जालमार्फत भाइ खोजिदिन अपिल गरेको भए पनि त्यसले कुनै प्रभाव नपरेपछि आफैँ नेपाल आएको बताउनुभयो ।
अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालको परिसरमा बेपत्ता भएका भाइ सुनबहादुरको तस्बिर देखाउँदै खोजिदिन अपिल गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “जापानबाट आएको भोलिपल्टै भाइ खोज्दै बाढी प्रभावित क्षेत्र त्रिशूली पुगे । त्यहाँ पनि भेटिन । अहिले अस्पतालमा धाइरहेको छु ।” बक्सिङका अनुसार सुनबहादुर रसुवाको जलविद्युत् आयोजनामा खाना पकाउने काम गर्नुहुन्थ्यो । भाइसँगै काम गरेर सबै साथीहरु घर फर्किएको सुनाउँदै बक्सिङले आफ्नो भाइ पनि भेटिने आशा राखेको सुनाउनुभयो ।
रसुवा टिमुरेबाट बेपत्ता हुनुभएका खोटाङ घर भएका दोर्ची शेर्पालाई उहाँको भतिजी सपना शेर्पा खोजी गर्दै काठमाडौँका अस्पतालमा चाहर्नुभएको छ । कामको सिलसिलमा रसुवा बस्दै आउनुभएको काकाकाकी र दुई छोराछोरी वेपत्ता भएको उहाँले सुनाउनुभयो । जसमध्ये, काकी भने कतै भेटिनुभएको भन्ने खबर सुन्नमा आएको उहाँले बताउनुभयो । तर, कहाँ भेटिनुभएको छ अहिलेसम्म सम्पर्कमा नआएको सपनाले सुनाउनुभयो । काकी भेटिएको खबरले एकातिर खुसी दिएको छ भने अर्कोतिर काका र ससाना भाइबहिनीको बेखरले निराशा बनाएको छ । सपना भन्नुहुन्छ, “काकी भेटिनुभएको सुनेर मनमा आशा पलाएको छ ।”
सिन्धुपाल्चोक, बेँसी नगरपालिका–१२ का रुपेश श्रेष्ठका ससुरा बा र मामाको छोरा खोज्दै हरेक दिन शिक्षण अस्पताल धाउनुहुन्छ । सवारी चालक काम गर्ने ससुरा बा र मामाको छोरा खोज्न रुपेश चितवनदेखि काठमाडाँैका विभिन्न अस्पतालमा जानुभएको छ । “आफन्तको सहयोगमा हेलिकप्टरको प्रयोग गरी चितवनसम्म खोज्न पुग्यौँ । तर, कुनै पत्तो लागेन”, उहाँले भन्नुभयो, “अस्पतालमा आउँछौँ, खोज्छौँ फर्किन्छौँ । दैनिकी यसरी बितेको छ ।” आफन्त खोज्न उहाँहरु हरेक दिन हातमा बेपत्ता आफन्तजनको तस्बिर बोकेर सैनिक अस्पताल, मनमोहन अस्पताल, नर्भिक अस्पताल, ट्रमा अस्पतालदेखि शिक्षण अस्पतालमा निरन्तर सम्पर्क गरिरहनुभएको छ । बिहानदेखि बेलुका ७÷८ बजे अस्पतालमै बित्ने गरेको उहाँले सुनाउनुभयो । चिनजानमा रहेका साथीहरु सबै बाढीमा बेपत्ता भएको उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ का यमबहादुरका छोरा सौगात गिरी बेपत्ता हुनुहुन्छ । वसन्त भनेर चिनिने उहाँ टिमुरेमा मालवाहक ढुवानी चलाउने काम गर्दै आउनुभएको थियो । टिमुरेमा बाढीसँगै बेपत्ता हुनुभएको उहाँले अन्तिमपटक बुहारीसँग भदौ १० गते ८।३० बजे कुराकानी भएको यमबहादुर बताउनुहुन्छ । छोरोको साथीले बीचबाटै टिमुरेमा सवारी लिएर जान भनेपछि उतै गएको खबर मात्रै उहाँले पाउनुभएको छ ।
त्यस खबरपछि छोरो बेखबर भएको चिन्ताले यमबहादुरको मन अशान्त छ । उहाँ भन्नुहुन्छ, “मेरो एउटै छोरो हो । हामीलाई बाँचुन्जेल पाल्ने र मरेपछि फाल्ने उही नै थियो ।” टिमुरेको एक होटलमा बसेर बिहान ८ः३० बजे चिया र खाजा खाँदै बुहारीलाई फोन गरेको थिए । त्यसको १० मिनेटपछि छोराको सम्पर्क टुटेको यमबहादुरले सुनाउनुभयो । छोरो खोज्दै चितवनसम्म पुगे पनि अरु ठाउँ खोज्ने आफ्नो कुनै उपाय नभएको बताउनुभयो । अस्पतालमा उद्धारमा आएका व्यक्तिमा छोरो भेटिन्छ कि रु भन्ने आशाले राख्दै उहाँ दैनिक अस्पताल आउनुहुन्छ । बेपत्ता छोरोको तस्बिरतिर हेर्दै भावुक हुँदै उहाँले भन्नुभयो, “बुढेसकालको साहारा यही थियो । अब कहाँ खोज्न जाउँ ?”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


















