चितवन विशेष
मध्यविन्दु प्रादेशिक अस्पतालमा बेपत्ता व्यक्तिका आफन्तलाई टीपीओ नेपालको मनोसामाजिक सहयोग

नवलपुर, भदौ १८-
बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा आउने आफन्त तथा परिवारलाई टीपीओ नेपाल चितवनले मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ ।
टीपीओ नेपालले अस्पतालसँगको सहकार्यमा बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानका लागि मध्यविन्दु अस्पताल आउने आफन्त तथा परिवारलाई मनोसामाजिक सहयोग प्रदान गरेको हो ।
टीपीओ नेपाल चितवनका परियोजना संयोजक सुजन श्रेष्ठका अनुसार यस्तो संवेदनशील अवस्थामा रहेका परिवारजनलाई आवश्यक जानकारीसँगै भावनात्मक तथा मनोसामाजिक सहयोग प्रदान गर्नु महत्वपूर्ण रहेको छ । उनले नवलपुरमा बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानको प्रक्रिया अझै जारी रहेकाले आफन्तलाई आवश्यक मनोसामाजिक सहयोग र सहजीकरण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।
यस्तै टीपीओ नेपालले पीडित परिवारलाई आवश्यकताअनुसार खाना, बसोबास, यात्रा तथा अन्य उपलब्ध सहयोगसँग जोड्ने कामसमेत गरिरहेको छ । नवलपुर जिल्लामा हालसम्म २१८ वटा शव संकलन भएका छन् । तीमध्ये ३ वटा शव मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिचान भइसकेका छन् ।


























