देश/प्रदेश
भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग

कञ्चनपुर, भदौ १८ –
भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकाले रु सात लाख कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभयो ।
त्यसैगरी, सुदूरपश्च्मि विश्वविद्यालयले रु ८८ लाख बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले दुईदेखि सात दिनसम्मको तलब रकम कट्टा गरी कोषमा रकम जम्मा गरिएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घले बाढीबाट प्रभावितको लागि रु पाँच लाख २५ हजार राहत कोषमा जम्मा गरेको छ । सङ्घका अध्यक्ष दिनेश मल्लले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।
यहाँको लिटिल बुद्ध एकेडमीले राहत कोषमा रु आठ लाख २५ हजार रकम प्रदान गरेको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिनुभयो ।
उदयदेव सहकारी संस्थाले रु दुई लाख ११ हजार, मेघा सहकारीले रु एक लाख एक हजार र जिल्लाका अन्य सहकारीले रु ९८ हजार सहयोग गरेका छन् । यहाँको निड्स नेपालले रु एक लाख २५ हजार, समाज कल्याण सङ्घले रु एक लाख ८६ हजार, भीमदत्त नगरपालिका वडा १८ ले रु एक लाख ११ हजार, सिर्जनशील सहकारीले रु एक लाख ११ हजार, भीमदत्त नगरपालिका–४ बाट रु ५१ हजार वडा १७ बाट रु ५० हजार रकम राहत कोषमा जम्मा गरिएको छ ।
जिल्लाको होटेल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार र मर्निङ ग्लोरी स्कुलले ५१ हजार रकम राहत कोषमा जम्मा गरेको छ । होटेल ओपेराले एक लाख ५१ हजार प्रदान गरेको छ ।
त्यसैगरी, कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ ।
दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव आयोजना गरी बाढीपीडितलाई सहयोग सङ्कलन गर्न लागिएको विद्यालयका प्राचार्य खेमलाल घिमिरेले जानकारी दिनुभयो । “विपद्को समयमा सबै क्षेत्रबाट सहयोग भएको छ, विद्यालयले पनि केही सहयोग गर्न सकिन्छ कि भनेर गौरा पर्वको अवसर पारी यो महोत्सव आयोजना गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “महोत्सवबाट यसबाट सङ्कलन हुने सबै सहयोग बाढीपीडितलाई सहयोग गर्छौं ।” जिल्लाका विभिन्न सङ्घसंस्थाहरूले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका सहयोग गर्ने क्रम जारी छ ।रासस

























