देश/प्रदेश

नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

Banner

बैतडी, भदौ १६ –

भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्रमार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।

सीमा क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार मर्मत र निर्माणलगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागुऔषध ओसारपसार, मानवबेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान–प्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । सीमा आवागमनलाई सहज र प्रभावकारी बनाउने विषयमा पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो ।

“बाढी, पहिरो तथा आकस्मिक बाढीको जोखीम नेपाल–भारत दुवैतर्फ नै छ” प्रजिअ अर्यालले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि सूचना आदान–प्रदान गर्ने साझा संयन्त्र निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।” बैठकमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म थप सुदृढ गर्दै सीमा समन्वय बैठकलाई निरन्तरता दिने विषयमा समेत सहमति भएको जानकारी दिइएको छ ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा बैतडी र दार्चुला जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । भारतको तर्फबाट पिथौरागढ जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी रहेको जानकारी दिइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>