देश/प्रदेश

लोप हुँदै अस्टिम्की चित्रकला, मौलिकता जोगाउन संरक्षण र ब्रान्डिङमा जोड

Banner

बाँके, भदौ १६ –

अष्टिमकी चित्रकला लोप हुने अवस्थामा पुगेको छ ।

थारु समुदायभित्र उक्त कलालाई मौलिक लोककला, संस्कृति र पहिचानसँग जोडिएको छ । थारु समुदायका अगुवाले सो चिकलाको संरक्षण, सम्वद्र्धन र ब्रान्डिङ गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

थारु अनुसन्धाता तथा साहित्यकार शेखर दहितले अस्टिम्की चित्रमा परम्परादेखि समेटिँदै आएका सांस्कृतिक, धार्मिक तथा सामाजिक प्रतिकको अर्थ र महत्व रहेको जानकारी दिनुभयो ।

उहाँले “पछिल्लो समय यसको स्वरूप र चित्रणमा विचलन आउन थालेको छ, यसले थारु चित्रकला लोप हुने खतरा छ ।” भन्नुभयो । थारु समुदायको मौलिक कला र सांस्कृतिक पहिचान बोकेको अस्टिम्की चित्रकलालाई आधुनिकताका नाममा परिवर्तन गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसप्रति नयाँ पुस्ता र सम्बन्धित समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

“अस्टिम्की चित्रकलालाई थारु समुदायको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न ब्रान्डिङ गर्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो । अस्टिम्कीलाई केवल पर्वका अवसरमा बनाइने चित्रका रूपमा सीमित नराखी थारु कला र पहिचानको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्नपर्ने थारु अनुसन्धानदातासहित बताउनुहुन्छ ।

अस्टिम्कीमा अनावश्यक चित्र तथा आकृति थपिने र परम्परागत रूपमा राखिनुपर्ने महत्वपूर्ण चित्र छुट्नेक्रमसमेत देखिएको जानकारी दिँदै उहाँले अस्टिम्कीको मौलिक संरचना र सांस्कृतिक अर्थमा विचलन ल्याउने भएकाले चित्र बनाउने पुस्ताले यसको परम्परागत ज्ञान बुझ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

थारु समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउँदै आएको अस्टिम्की दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने गरिन्छ । थारु समुदायमा विशेष सांस्कृतिक गतिविधिसँगै अस्टिम्की चित्र बनाउने परम्परा रहँदै आएको छ ।

चित्रमा थारु समुदायको धार्मिक विश्वास, सामाजिक जीवन, प्रकृति, जीवजन्तु तथा सांस्कृतिक अभ्याससँग सम्बन्धित विभिन्न आकृति र प्रतिक समेटिन्छन् ।

चित्रकला केवल सजावटको माध्यम नभई थारु समुदायको इतिहास, विश्वास, जीवनशैली र सामूहिक पहिचानको दृश्य अभिलेख समेत भएको बताइएको छ ।

जङ्गार साहित्यिक बखेरी नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि यस्ता सांस्कृतिक सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

थारु समुदायका मौलिक कला र परम्पराको दस्तावेजीकरण गर्दै नयाँ पुस्तासम्म पु¥याउन साहित्यिक तथा सांस्कृतिक संस्थाले निरन्तर भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अस्टिम्कीको मौलिकता जोगाउन कलाकार, समुदाय, साहित्यकार, अनुसन्धाता र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै डेमनडौराले थारु समुदायको पहिचान र अस्तित्वसँग जोडिएको अस्टिम्की चित्रकलालाई व्यवस्थित रूपमा संरक्षण, अभिलेखीकरण गर्न आवश्यक भएको बताउनुभयो । श्रीकृष्ण जन्माष्टमीका दिन यो चित्रकला बनाएर पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>