देश/प्रदेश
बाढीपीडित गण्डकीका परिवारलाई एक लाख, घाइतेलाई ५० हजार दिने

पोखरा, भदौ १६ –
भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु र बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री राहत कोषमा रु चार करोड प्रदान गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले गरेको घोषणालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो ।
बाढीमा परी पोखरा आएका घाइते तथा बिरामी नागरिकलाई घरसम्म पु¥याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने प्रवक्ता शेरचनले बताउनुभयो । बाढीमा परी विभिन्न अस्पतालमा उपचार गराइरहेका गण्डकी प्रदेशका घाइतेलाई रु ५० हजारका दरले सहयोग उपलब्ध गराइने प्रवक्ता शेरचनले जानकारी दिनुभयो ।
यसैगरी किरिया खर्चबापत प्रतिमृतक रु २५ हजार उपलब्ध गराउने निर्णयसमेत गरेको छ । रासस

























