देश/प्रदेश
रसुवा बाढीपहिरो पीडितका लागि टेकमाइन्ड्स परिवारको मानवीय पहल, होल्डिङ सेन्टरमा निःशुल्क इन्टरनेट सेवा

चितवन, भदौ १५-
रसुवामा आएको बाढीपहिरोका कारण आफ्ना प्रियजन गुमाएका परिवारजनले होल्डिङ सेन्टरमा दिवंगत आफन्तहरूको फोटो तथा विवरण हेर्ने क्रममा भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै टेकमाइन्ड्स परिवारले मानवीय सहयोगको पहल गरेको छ।
विपद्का कारण आफन्त गुमाएका परिवारका लागि आफ्ना प्रियजनको फोटो तथा जानकारी हेर्नु आफैंमा अत्यन्त पीडादायी क्षण हो। त्यसमाथि टाढा रहेका परिवारजनले भिडियो कलमार्फत समेत आफ्ना दिवंगत आफन्तको फोटो हेर्न नसक्ने अवस्था र मोबाइल डेटा सेवामा देखिएको समस्याले पीडित परिवारको कठिनाइ थप बढाएको थियो।
यही संवेदनशील अवस्थालाई ध्यानमा राख्दै टेकमाइन्ड्स परिवारले आफ्नो सामाजिक तथा मानवीय जिम्मेवारी सम्झिँदै होल्डिङ सेन्टरमा इन्टरनेट सेवा उपलब्ध गराएको हो। इन्टरनेट सेवामार्फत शोकमा रहेका परिवारजनलाई आफ्ना दिवंगत आफन्तहरूको फोटो तथा आवश्यक जानकारी हेर्न तथा टाढा रहेका आफन्तहरूसँग सम्पर्कमा जोडिन सहज भएको छ।
टेकमाइन्ड्स परिवारले विपद्को यस कठिन घडीमा आफूले गरेको सहयोग सानो भए पनि पीडामा रहेका परिवारलाई आफ्ना प्रियजनसँग जोडिन सहज बनाउन सक्नु नै ठूलो मानवीय सेवा भएको जनाएको छ।
विपद्का बेला प्रविधिको पहुँचलाई मानवीय सेवासँग जोड्दै गरिएको यस पहलले सूचना तथा सञ्चारको अभावमा रहेका पीडित परिवारलाई केही हदसम्म राहत पुर्याउने विश्वास गरिएको छ।



























