देश/प्रदेश

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

Banner

राँझा (बाँके), भदौ १५ –

रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ ।

रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारू अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । दशैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना बोकेका यी युवाहरू क्षतविक्षत अवस्थामा फर्किंदा सिङ्गो बस्ती स्तब्ध बनेको छ ।

बढीमा परेर दुई युवकको निधनले यतिबेला कोहलपुर नगरपालिकाको लोकनगरवस्ती शोकमा डुबेको कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना अधिकारीले बताउनुभयो ।

एक्लो छोरा गुमाउँदा रित्तियो कोख

२८ वर्षीय महेश परिवारका एक्ला छोरा थिए । घरको सम्पूर्ण आर्थिक भार उनकै काँधमा थियो । रसुवामा मिस्त्रीका रूपमा काम गर्ने उनी नियमितजसो घरमा फोन गरेर हालखबर साट्थे । तर, भदौ १० गतेको बाढीपछि उनको फोन सधैँका लागि मौन भयो ।

“सुरुदेखि नै फोन लागेन, लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन पुग्यौँ, छोरो मृत अवस्थामा भेटियो”, महेशका वृद्ध बुबा विश्रामले भन्नुभयो, “बाढीले छोरालाई बगाएपछि बुढेसकालमा साहरा खोसिएको छ ।”

बुबा विश्रामका अनुसार, मृतक महेश रोजगारीको सिलसिलामा २०८३ असार १० गते रसुवा गएका थिए । त्यहाँ उनी गाउँले साथीहरूसँगै एक विद्युत् परियोजनामा काम गर्थे । मिस्त्रीका रूपमा काम गरेर परिवारको सम्पूर्ण आर्थिक भार धानेका थिए महेशको घरमा आठ र दुई वर्षका दुई छोरा, श्रीमती र वृद्ध बुबाआमा हुनुहुन्छ ।

गत वैशाख अन्तिम साता रोजगारीको खोजीमा रसुवा पुगेका कोहलपुर लोकनगरकै २३ वर्षीय कबीरलाल आगामी दशैँमा घर फर्किने योजना बनाएका थिए । भदौ १० गते आएको बाढीले कबीरलाललाई दशैँ पर्खिन दिएन । बाढीपछि भाइको खोजी गर्दै जाँदा चितवनको भरतपुर अस्पतालमा शव फेला परेको दाजु सुग्रीप थारुले बताउनुभयो ।

“भरतपुर अस्पतालमा सयौँ लास थिए, खोजी गर्दा भाइको दायाँ खुट्टा छिनिएको र क्षतविक्षत लास भेटियो”, सुग्रीपले भन्नुभयो, “घरबाट जिउँदो भेट्ने आशा लिएर खोजीमा पुगेका हाम्रो आशा सधैँका लागि समाप्त भयो ।”

महेश र कबीरलालको शव कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार, कोहलपुरका अझै ११ जना सम्पर्कविहीन भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका छन् । नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल रु ५० हजार राहत उपलब्ध गराउने भएको छ ।

बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायतल, ५ का वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ र ६ का वडाध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्न खटाएको छ ।

विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पु¥याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>