देश/प्रदेश

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

Banner

म्याग्दी, भदौ १५ –

म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् ।

एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१र४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५६१ उद्योग र ४८३ व्यवसाय नवीकरण भएका छन् । हालसम्म म्याग्दीमा तीन हजार ४९० उद्योग र तीन हजार ५५ व्यवसाय दर्ता भएका छन् । उद्योग, व्यवसाय दर्ता नवीकरणबापत गत आवमा रु १९ लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयका अधिकृत पवी थापाले बताउनुभयो ।

अघिल्लो वर्ष रु ३० लाख २५ हजार ७७४ राजस्व सङ्कलन भएको थियो । पछिल्ला केही वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायी वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

आव २०८१र८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका थिए । आव २०८०र८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएकामा ८४ खारेज भएका थिए । चौध उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९र८० मा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका थिए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसङ्ख्या, बसाइँसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको बताउनुभयो ।

फेन्सी, हार्डवेयर र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने तथा खारेज गर्न थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>