देश/प्रदेश

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

Banner

धनुषा, भदौ १५ –

देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन् ।

महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख एक सहयोग गर्नुभएको छ । उहाँले व्यक्तिगत खुसीभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै जन्मदिनमा हुने खर्च सहयोग गर्नुभएको हो ।

झाले देश नै विपत्तिमा परेका बेला व्यक्तिगत उत्सवमा मात्र रमाउनु उचित नलागेकाले प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

“देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।

बर्दिबासका सामाजिक अभियन्ता तथा योगगुरु सुमित्रा भट्टराईले रु ५१ हजार सहयोग गर्नुभएको छ । भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित परिवार राहत तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनासहित सहयोग गरिएको भट्टराईले बताउनुभयो ।

उहाँले विपद्का बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

त्यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घको सहकार्यमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्री कृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषणा थापाले रु ५१ हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै मोनास्टिक स्कुल÷कलेजले रु पाँच लाख एक हजार सहयोग गर्ने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको विद्यालयले जनाएको छ ।

विद्यालयका निर्देशक डा सोनु साहले विपद्का बेला पीडितपरिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताउनुभयो । सहयोगकर्ताले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाज सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>