देश/प्रदेश
मृतकको पहिचानका लागि कक्ष सञ्चालन

हेटौँडा, भदौ १४-
हेटौँडा उपमहानगरपालिकाले रसुवामा गएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान सहज बनाउन ‘प्रोजेक्टर’ सहितको कक्ष सञ्चालनमा ल्याएको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष सञ्चालनमा ल्याएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षमा प्रोजेक्टरमार्फत उद्धार गरिएका शवका उपलब्ध तस्बिर तथा विवरण देखाइने व्यवस्था गरिएको छ । बाढीपछि सम्पर्कविहीन भएका परिवारले यहाँ उपलब्ध तस्बिर तथा विवरण हेर्न सक्नेछन् । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताउनुभयो ।
प्रोजेक्टरमा उपलब्ध तस्बिर तथा विवरण सामूहिक रूपमा हेर्न सकिने भएकाले शवको पहिचान तथा यकिन गर्न सहयोग पुग्ने उपमहानगरपालिकाले जनाएको छ । रासस

























