देश/प्रदेश

देश संकटमा छः पीडितको आँसु पुछ्ने हात बनौँ

Banner

सन्तोषी रावल,

काठमाडौं, भदौ १४

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखाअगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ । विपत्तिको यो घडीमा पीडितका लागि हरेक क्षण भारी बनेको छ । यस्तो अवस्थामा हामीले आफूलाई मात्र होइन, आफ्नो समाज र आफ्नो देशलाई सम्झनुपर्ने समय आएको छ । संकटका बेला राज्यको प्रयाससँगै नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ ।

हामीमध्ये धेरैजना सायद दुई दिनअघिसम्म आफ्नै संसारमा रमाइरहेका थियौँ । सामाजिक सञ्जालमा हाँसो थियो, मनोरञ्जन थियो, उत्सव थियो । जीवन आफ्नै गतिमा चलिरहेको थियो । तर एकाएक आएको बाढीले त्यो रंगमञ्चको पर्दा झारिदियो । हिजोसम्म रमाइलो लागिरहेको संसार आज कसैका लागि अँध्यारो बनेको छ । कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।

आज पनि कतिपय आमाबुबा आफ्ना छोराछोरीको बाटो कुरिरहेका छन् । कतिपय छोराछोरी आफ्ना अभिभावक फर्किने आशामा छन् । कतै आफन्तले शव बुझ्न पाएका छैनन्, कतै बेपत्ता प्रियजनको खोजी अझै जारी छ । कसैको हातमा आफ्नो घरको चाबी छ, तर घर छैन । कसैको आँखामा भविष्यको सपना छ, तर त्यो सपना थिचिएको छ भग्नावशेषमुनि । बाढीले माटो, ढुंगा र घर मात्र बगाएको छैन । यसले मानिसका वर्षौँका सपना, सम्झना र सम्बन्धमाथि पनि प्रहार गरेको छ ।

तर यही अँध्यारोबीच मानवताको उज्यालो पनि देखिएको छ । सुरक्षाकर्मीहरू आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिएका छन् । स्थानीय नागरिकहरू आफ्ना दुःख बिर्सेर अरूको जीवन बचाउन दौडिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी र विभिन्न संघसंस्था राहत र उद्धारमा जुटेका छन् । छिमेकी देश तथा विदेशी सहयोगीहरूले समेत आवश्यक अनुमति र समन्वयमार्फत उद्धार तथा राहतमा हात बढाएका छन् । विपत्तिले सीमा, भाषा र पहिचानभन्दा माथि उठेर मानिस हुनुको अर्थ सम्झाइरहेको छ ।

यो समय कसैलाई दोष दिनेभन्दा पनि हातेमालो गर्ने समय हो । हामी सबैले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न सक्छौँ । कसैले राहत सामग्री दिन सक्छ, कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले स्वयंसेवक बनेर समय दिन सक्छ, कसैले सही सूचना फैलाएर सहयोग गर्न सक्छ । तर सबैभन्दा ठूलो कुरा पीडितको पीडालाई आफ्नो पीडा सम्झिनु हो । आज उनीहरूको घर बगेको छ, भोलि यस्तो विपत्ति हाम्रो ढोकासम्म पनि आइपुग्न सक्छ । त्यसैले संकटमा परेका नेपालीलाई एक्लो छोड्ने होइन, उनीहरूको साथमा उभिने जिम्मेवारी हामी सबैको हो ।

हामी साँच्चै कस्तो समाज हौँ भन्ने परीक्षा यस्तै कठिन समयमा हुन्छ । सुखमा साथ दिने मानिस धेरै हुन्छन्, तर दुःखमा हात समाउने मानिस नै आफ्नो हुन् छ। अहिले हजारौँ परिवारलाई हाम्रो एउटा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ । एउटा कम्बल, एक बोरा खाद्यान्न, एउटा औषधि, केही रुपैयाँ वा केही घण्टाको श्रम—पीडितका लागि त्यो जीवनसँग जोडिएको सहारा बन्न सक्छ । त्यसैले आफ्नो क्षमता र परिस्थितिअनुसार सहयोग गरौँ । राहतका नाममा हुने गलत सूचना र अफवाहबाट जोगिँदै विश्वसनीय माध्यमबाट मात्रै सहयोग गरौँ ।

दुई दिनको रंगमञ्चमा हामी सबै आ–आफ्नो भूमिकामा थियौँ । कसैले हाँस्यौँ, कसैले रमायौँ, कसैले आफ्नो संसारमा व्यस्त भयौँ । तर पर्दा झरेपछि वास्तविक जीवन देखियो कतै चित्कार, कतै आँसु, कतै प्रतीक्षा र कतै मौनता । अब प्रश्न एउटै छ यो पीडामा हामी दर्शक बनेर बस्ने कि एउटाको आँसु पुछ्ने हात बन्ने ? देश संकटमा छ । आज पीडितलाई हाम्रो साथ चाहिएको छ । किनकि यो देश सरकारको होइन, हामी सबैको हो । र जब देश रोइरहेको हुन्छ, साँचो नेपाली त्यतिबेला आफ्ना आँसु लुकाएर भए पनि अर्को नेपालीको हात समाउन अघि बढ्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>