खेलकुद
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौँ, भदौ १४ –
तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।
नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।
हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।
नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।
एसियन क्रिकेट काउन्सिल ९एसिसी० का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।
नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहो¥याउने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताउनुभएको छ । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उहाँको भनाइ छ ।
‘‘प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ । भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ । मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई निगरानी गर्नुभएको छ । त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ,’’ चौधरीले रासससँग भन्नुभयो ।
टोलीमा रहेका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उहाँले बताउनुभयो । ‘‘देव खनाल, आसिफ शेख, अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यसपटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो,’’ उहाँले भन्नुभयो ।
मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन् ।
‘‘नेपालले घरबाहिर खेल्दैछ । केही चुनौती अवश्य छन् । तर, प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले खेलाडीहरू केही अभ्यस्त भइसकेका छन् । प्रतियोगितामा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान र युएई हुन् । विगतमा पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्,’’ पूर्वखेलाडी चौधरीले भन्नुभयो ।रासस

























