Breaking News
चितवनमा २५९ शव फेला, ९६ को जङ्गलमा व्यवस्थापन, ९ जनाको मात्रै सनाखत

चितवन, भदौ १३-
रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २५९ वटा शव फेला परेका छन् भने ९६ वटा शवको देवघाटस्थित जङ्गलमा व्यवस्थापन गरिएको छ।
जङ्गलमा व्यवस्थापन गरिएका शवमध्ये ३५ महिला, ५९ पुरुष र २ अन्य अवशेष रहेका छन्। शवहरूको डीएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।
यस्तै, हालसम्म ९ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ। सनाखत भएकामध्ये ८ पुरुष र १ बालिका रहेका छन्।
यस्तै हालसम्म फेला परेका २५९ शवमध्ये ६० महिला, १०७ पुरुष, ६ बालक, ४ बालिका र ८२ अन्य (अवशेष) रहेका छन्।
जिल्ला प्रहरीले नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको जनाएको छ।






















