देश/प्रदेश
रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी, भदौ १२-
बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि रु ११ लाख सहयोग गर्ने भएका छन् ।
बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागी दशरथचन्द नगरपालिकाले रु तीन लाख सहयोग उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिनुभयो । नगर प्रमुखस्तरीय निर्णय अनुुसार विपद् प्रभावित नागरिकका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
यस्तै पाटन नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख ५० हजार जम्मा गर्ने लागि नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाले कोषमा रु २ लाख उपलब्ध गराउने निर्णय गरेको सो गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताउनुभयो । यस्तै जनप्रतिनिधिको दुई दिन बराबरको पारश्रमिक पनि कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यसैगरी शिवनाथ गाउँपालिकाले बाढीपीडितका लागि रु दुई लाख सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिकाले कोषमा रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।
बाढीपछि आठ जना सम्पर्कविहीन
भोटेकोशीमा गएको बाढीपछि बैतडीका आठ जना सम्पर्कविहीन भएका छन् । दुई जना सुरक्षाकर्मीसहित उनीहरु सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
डिलाशैनी गाउँपालिकाका तीन, सुर्नया गाउँपालिकाका दुई तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक /एक जना सम्पर्कविहीन रहेका छन् । त्रिशूली हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–६ का ३१ वर्षीय हरिश चन्द, रसुवा हाइड्रोपावरमा कार्यरत पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द सम्पर्कविहीन रहेका छन् ।
त्यस्तै, डिलासैनी गाउँपालिका–७ धामीगाउँका २८ वर्षीय पूर्णसिंह धामी र २७ वर्षीय विशाल धामी, रसुवाको सशस्त्र प्रहरी बीओपी टिमुरेमा कार्यरत डिलासैनी–२ मल्ला छेपट्टाकी बिनिता बोहरा तथा लाङटाङ हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्ट पनि बाढीपछि सम्पर्कविहीन छन् ।
यसैगरी, इलाका वन कार्यालय इलाममा कार्यरत रही नुवाकोटमा परीक्षा दिन गएका सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर र रसुवागढी प्रहरी चौकीमा कार्यरत दोगडाकेदार गाउँपालिका–२ का हिक्मत महरा पनि बाढीपछि सम्पर्कविहीन भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । रासस

























