देश/प्रदेश

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

Banner

लमजुङ, भदौ १२-

रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिका–९ राइनासकोटका ३६ वर्षीय राजन थापा माथिल्लो हाइड्रोपावरको टिमुरे बेसक्याम्पमा काम गर्ने क्रममा सम्पर्कविहीन हुनुभएको हो । यस्तै मस्र्याङ्दी गाउँपालिका–९ ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी टिमुरेस्थित सशस्त्र प्रहरी बलको बेसक्याम्प (बिओपी) मा कार्यरत रहँदा सम्पर्कविहीन हुनुभएको छ ।

यसैगरी दोर्दी गाउँपालिका–६ पैरेखोलाका ३५ वर्षीय रामकुमार तामाङ रसुवामा मजदुरी गर्ने क्रममा सम्पर्कविहीन हुनुभएको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ खोपडीका ३४ वर्षीया रमिला भण्डारी रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा सब–इञ्जिनियरका रूपमा कार्यरत रहँदा सम्पर्कविहीन हुनुभएको छ ।

यस्तै बेँसीशहर नगरपालिका–११ कोलडाँडाका ४३ वर्षीया राधिका घर्ती र सोही वडाका ४५ वर्षीय झपटबहादुर घर्ती रसुवास्थित जलविद्युत् आयोजनामा खाना पकाउने काम गर्दै आउनुभएकामा बाढीपछि सम्पर्कविहीन हुनुभएको छ । बेँसीसहर नगरपालिका–११ चितीका २९ वर्षीय कुमार परियार रसुवाको एक होटलमा काम गर्दै आउनुभएकामा बाढीपछि सम्पर्कविहीन हुनुभएको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो ।

बेँसीसहर नगरपालिका–१ चितीका ३५ वर्षीय सुगम सिलवाल ट्रेकिङका लागि रसुवा पुग्नुभएको अवस्थामा बाढीमा परी सम्पर्कविहीन हुनुभएको छ । राइनास नगरपालिका–६ की २६ वर्षीया अनुष्का पाण्डे चिलुवाल र उहाँका दुई वर्षीय छोरा आयुष चिलुवाल पनि रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएको प्रहरीले जनाएको छ । रसुवामा आएको बाढीपछि लमजुङबाट काम तथा अन्य प्रयोजनका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>